धरान । हिन्दु राष्ट्रसहितको राजसंस्था स्थापनाको लागि पछिल्लो केही समय यता शान्तिपूर्ण आन्दोलन गर्दै आउनु भएका सामाजिक अभियन्ता एवम् व्यवसायी दुर्गा प्रसाईले वित्तीय संस्थामा रहेका फटाहाहरुका कारण आम सर्वसाधारण चर्को व्याजदरबाट पीडित भएको बताउनु भएको छ । शनिवार धरानको भानुचौकमा भएको वृहत कार्यक्रमलाई सम्बोधन गर्दै अभियन्ता प्रसाईले उक्त कुरा बताउनु भएको हो । उहाँले बैक तथा बित्तीय संस्थाहरुको ज्यादतिका विरुद्ध जारी आन्दोलन चैत्र २४ गते पछि अर्को चरणमा प्रवेश गर्ने समेत बताउनुभयो । अभियन्ता प्रसाईले आफूले बैंक तथा वित्तीय संस्थाहरु विरुद्धको आन्दोलनलाई अभियानकै रुपमा लिएर हिडेको र यस अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्बोधनका क्रममा भन्नुभयो तपाईहरु नआत्तिनुस्, दुर्गा प्रसाई विक्री हुने मान्छे होइन, मलाई सांसद हुनु छैन, मैले सबै कुरा भोगेको छु, देखेको छु, मलाई केही चाहिँदैन बस तपाईहरुलाई बैंक तथा वित्तीय संस्थाको चंगुलबाट बाहिर ल्याउनु छ । उहाँले भन्नुभयो आज अधिकांशको परिवार भाँडिएको छ, आत्म हत्याको बाटोतर्फ अग्रसर भएका छन् ।

राज्यले २० लाख सम्मको ऋण मात्र माफी गरिदिने हो भने विदेसिएका ५० लाख मानिस आफ्नै देशमा केही गर्छु भनेर फर्कने छन् । दक्ष जनशक्ति, युवा पलायन हुनु भनेको देश अद्योगतितर्फ उन्मुख हुनु हो । प्रसाईले भन्नुभयो देश सञ्चालनको बागडोर सम्हालेका राजनैतिक दलका नेताहरुले मुलुकको भलाई कहिल्यै चाहेनन् । सदा कुभलोतर्फ मात्र अग्रसर भए । उहाँले भन्नुभयो चौतर्फी विरोध हुँदाहुँदै जनभावना विपरीत नेताहरुले राष्ट्रघाति एमसिसी पास गराए, अब नागरिकता विद्येयक पास गर्छन् । फागुन १ गते झापाको मेचीमा राजा ज्ञानेन्द्र शाहबाट दिप प्रज्वलन गरेर अभियानको शुभारम्भ गर्नुभएका प्रसाईले जबसम्म आफ्नो मिसन पूरा हुँदैन तबसम्म अभियानलाई निरन्तता दिने समेत बताउनुभयो । कार्यक्रमको सञ्चालन चर्चित उद्घोषिका रमासिंह र त्ख् ढ च्यालनकी सम्वाददाता इन्जिना कार्कीले गर्नुभएको थियो ।
