धरान । धनकुटाबाट परिवारसहित मोरङको पथरी हिडेका अशोक कार्कीलाई धरानको छाताचौकमा ट्राफिक प्रहरीले रोकी लाइसेन्स र ब्लुबुक जफत गर्दै पाँच सय जरिवाना वापत रसिद काट्न खोजे । कार्की अचम्ममा परे । आफूसँग सम्पूर्ण कागजात हुँदाहुँदै जरिवाना किन भन्दै जिज्ञासा राखे । एकतर्फी रुटको अवज्ञा गरेको भन्दै ट्राफिक प्रहरी रुप नारायण धामीले रसिद थमाउन खोजे । कार्कीले आफूलाई एकतर्फी रुटका सम्बन्धमा थाहा नभएको, दुई महिनापछि धरान आएको बारम्बार दोहो¥याए । कार्की र धामीबीच विवाद बढ्दै गयो । स्थानीयहरु जम्मा भए । बाहिरबाट आएकालाई थाहा नहुनसक्छ, एकतर्फी रुटमा पठाउन आग्रह गरे ।

यतिबेला धरानको नयाँ बजार र पुरानो बजारका विभिन्न स्थानमा वान वे उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीको असुली धन्दा मौलाएको स्थानीय नारायण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो धरान भन्दा पनि बाहिरी जिल्लाबाट आउनेहरु यसको मारमा परेका छन् । बढ्दो सवारी चापलाई नियन्त्रण गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको निर्णय अनुसार फागुन ८ गतेदेखि भानुचोकदेखि लक्ष्मी चौक र लक्ष्मीचौकदेखि पुरानो बजार हुँदै देशी लाइन भएर भानुचौकसम्मको वान वे सञ्चालन हुँदै आएको छ । अशोक कार्की त एउटा प्रतिनिधि पात्र मात्र हुन् । अशोक कार्की जस्ता कैयौ सवारी चालकहरुले वान वे को नाममा जरिवाना तिरिरहेका छन् ।
ट्राफिक प्रहरीको असुली धन्दाका सम्बन्धमा जिज्ञासा राख्दा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी श्याम मेहता भन्छन्, धरानमा वान वे सञ्चालन भएको एक महिना भन्दा बढी भयो । तीन हप्तासम्म वाने उल्लंघन गर्नेहरुलाई जरिवाना लिएनौं, सम्झायौ, बुझायौ, क्लास लियौ । बाहिरबाट आएका आक्कलझुक्कल हुन्छन्, अधिकांश स्थानीयहरुले नै उल्लंघन गर्छन् । वान वेका ठाउँ ठाउँमा सूचना बोर्ड राखिदिएका छौं, चालकले त्यो हेर्नुपर्छ । सधै भावनाको सम्मान गर्दा कानुन कार्यान्वयन हुन सक्दैन । अनि जरिवाना काटी हाल्नु त भन्ने जिज्ञासामा एसपी मेहताले भने त्यो गरिहाल्नु् हुँदैन । हाम्रो उद्देश्य सवारी आवागमन व्यवस्थापन गर्नु हो, रकम असुल्ने होइन । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतसँग यसै सम्बन्धमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो ठाउँ ठाउँमा बोर्ड राखिदिएको छ । चालकले त्यति त हेरिदिनु प¥यो नि । दुई तीन महिनापछि धरान आएकाहरुलाई थाहा हुँदैन । हामीले उहाँहरुलाई सम्झाएर वान वे पठाउने गरेका छौं ।
