मिस म्याचको समस्या समाधान गर्न हेल्प डेस्क स्थापना

धरान । व्यवसायीले आय विवरण र राजस्व दाखिला गर्दा कारोबार अङ्क फरक हुने समस्या (मिसम्याच) बढेपछि आन्तरिक राजस्व कार्यालय धरानमा हेल्प डेस्क राखिएको छ । सुनसरी उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालयको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको हो ।


आन्तरिक राजस्व कार्यालय धरानमा शुक्रबार व्यवसायी करदाता र सन्चारकर्मी माझ अभिमुखीकरण कार्यक्रम आयोजनापछि हेल्पडेस्कको समुद्घाटन समेत गरिएको छ ।  पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण पेश गर्ने करदाताका लागि विशेष व्यवस्थाको कार्यान्वयन अभियान २०७९ सुरु गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख गोविन्द आचार्यले बताउनुभयो ।
कारोबार अङ्क फरक (मिसम्याच) मा आर्थिक ऐन २०७९ को दफा २९ बमोजिमको सुविधाको उपयोगका लागि सम्बन्धित करदातालाई सहजीकरण गर्ने उद्देश्यले हेल्पडेस्क स्थापना गरिएको प्रमुख आचार्यले बताउनुभयो । यो सुविधा आर्थिक वर्ष ०७७÷७८ सम्म डे ०१ र डे ०२ आय विवरण र कर दाखिला गरेका करदाताले लिन सक्ने छन् । आर्थिक वर्ष ०७७÷७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अङ्क फरक भएमा प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको एक दशमलव पाँच प्रतिशत व्यवसायीले दाखिला गर्नु पर्ने हुन्छ ।
२०७९ जेठ १४ सम्म कर निर्धारण भइसकेकाको हकमा आयकरतर्फ संशोधित कर निर्धारण र मूल्य अभिवृद्धि करतर्फ कर निर्धारण भई बक्यौता रहेका करदाताले कर निर्धारण गर्दा कायम रहेको थप बिक्री रकमको १.५ प्रतिशत कर दाखिला गर्नुपर्ने हुन्छ । यो व्यवस्था आगामी चैत्र मसान्तसम्म रहने आन्तरिक राजस्व कार्यालय धरानले जनाएको छ ।  यो सुविधा नलिने करदाताहरुलाई प्रचलित कानूनअनुसार कर निर्धारण हुने र थप करको भार बढ्ने राजस्व कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।  व्यवसायीहरुलाई करका कतिपय विषय ज्ञान नभएका कारण करमाथि जरिवाना तिर्नु पर्ने अवस्था आएकाले व्यवसायी आफै सचेत हुनुपर्ने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । उहाँले मिसम्याच र ननफाइलर व्यवसायीलाई लाभान्वित हुने अवसरका रुपमा हेल्थ डेस्कले सहयोग गर्ने र यसको सदुपयोग गर्न व्यवसायीहरुलाई सुझाव दिनुभयो ।  आन्तरिक राजश्व कार्यालयको तथ्याङ्क अनुसार धरानमा ७ सय करदाता छन् । हाल मिसम्याचमा परेका करदाताहरुले ५ हजारदेखि २५ हजारसम्म तिर्नुपर्ने देखिन्छ । धरान राजस्व कार्यालयको तथ्याङ्क अनुसार कारोबार नगरेका तर राज्यलाई थाहा नभएका व्यवसायीहरु (ननफाइलर) विवरण नबुझाएका तर बर्सेनि करको भार बेहोरिरहेका मूल्य अभिवृद्धि करतर्फ ६ सय ९ जना करदाता रहेका छन् । आयकरतर्फ १६ हजार करदातामा ५० प्रतिशत ननफाइलर रहेको प्रमुख आचार्यले जानकारी दिनुभयो । मिस म्याचको विषयमा राजस्व कार्यालय र उद्योग वाणिज्य संघले समयमा अन्तरक्रिया समेत आयोजना गरेपछि दुवैको सहयोगको लागि हेल्पडेस्क स्थापना भएको हो । व्यवसायीहरुले भने कोरोना कहर अहिलेको आर्थिक मन्दीका कारण व्यवसायीहरु व्यवसायी गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै आएका छन् । यता आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले मिस म्याच समस्या देशैभरि भएको बताउदै यसलाई अपराधको रुपमा नभई त्रुटि सच्याउने तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । चैत्र मसान्तसम्म आन्तरिक राजस्व कार्यालयले २२ करोड कर उठाउने लक्ष्य निर्धारण गरेको छ । जसमध्ये आयकरतर्फ १४ करोड, मूल्य अभिवृद्धि करतर्फ ४ करोड बढी र अन्तशुल्कतर्फ १ करोड ५९ लाख उठाउने लक्ष्य लिएको छ । मिसम्याच र ननफाइलर घटाउने अभियानलाई अहिले व्यवसायी र कर कार्यालय समन्वय गरे अगाडि बढेका छन् ।

तपाईको प्रतिक्रिया