विष्णुपादुकाको बाटो कालोपत्र हुन सकेन

धरान । प्रसिद्ध धार्मिक पर्यटकीय स्थल सुनसरीको धरान उपमहानगरपालिका वडा नं. २० मा पर्ने विष्णुपादुकामा पुग्ने बाटो अझै पनि कालोपत्रे हुन सकेको छैन । धरानबाट करिब ९ किलो मिटर उत्तर पश्चिममा रहेको यो मन्दिरमा प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौंको संख्यामा हिन्दू धर्मावलम्वीहरू यहाँ आउने गर्दछन । यहाँ श्राद्ध गरेपछि भारतको काशी र गया गएर श्राद्ध गर्नु नपर्ने जनविश्वास छ । त्यहाँसम्म पुग्ने बाटो कालोपत्रे हुन नसक्दा विष्णुपादुका पुग्ने बाटो जीर्ण हुदा सर्वसाधारणले सास्ती भोग्दै आउनु परेको छ ।


धरान उपमहानगरपालिकामा गाभिनुभन्दा अगाडि विष्णुपादुका गाविस थियो । वि सं २०७१ मङ्सिर २६ गते नेपाल सरकारको निर्णयानुसार छुट्टैे विष्णुपादुका गाविसलाई धरान उपमहानगरपालिकामा गाभिएपछि वडा नं २० मा बनेको हो । उपमहानगरपालिकामा गाभिसक्दा पनि सडकको अवस्था जस्ताको तस्तै रहेको छ, धरान ११ मंगलबारेदेखि विष्णुपादुका भन्ज्याङसम्मको ७ किमी बाटो र मङ्गलबारे–विष्णुपादुका तथा भञ्ज्याङ–चाँदी भञ्ज्याङसम्मको २३ किमी सडकको स्तरोन्नति मात्र भएको छ । धरान उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष पदमबहादुर लिम्बुले सडक सञ्जाल नपुगेकै कारण विष्णुपादुका भन्ज्याङ अथवा वडासम्ममात्र कालोपत्रे गर्न सकिए धेरै सहज हुने बताउनुभयो । हुन त नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले विष्णुपादुकालाई ‘पर्यटन गाउँ’ छनौट गरेको थियो । तर यस ठाउँको विकास भने हुन सकेको भने छैन । विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले विगतमा सर्दु खोलामा पुल नहुदा अहिलेको भन्दा धेरै समस्या भएको बताउँदै पुलले केही सहज भएपनि मन्दिरसम्म पुग्ने बाटो अझै कालोपत्रे बन्न नसक्दा मन्दिरमा आउने भक्तजनहरुलाई अझै समस्या भएको बताउनुभयो ।
सडक सञ्जाल जोड्ने काम भए पनि गुणस्तरीय बाटोको लागि धरान उपमहानगरपालिकाले सम्बन्धित पक्षसँग पहल गरिरहेको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बताउनुभयो ।
विष्णुपादुकाको मन्दिर ऐतिहासिक मन्दिर त छँदैछ यहाँ अन्य कुराले पनि पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने धेरै आधारहरु छन् । विष्णुपादुकाको माछामारामा भूपू गोर्खा सैनिक परिवारहरुले बनाएको गोर्खा स्मृति पार्क, चाँदी बजार, सुलिकोट, चिण्डेडाँडा लगायतका रमणीय स्थल रहेका छन् । यसको विकासमा सरकारको चासो नहुदा विष्णुपादुका गाविसबाट उपमहानगरपालिका हुदासम्म सोचेजस्तो विकास हुन सकेको छैन । केही समय अगाडि धरान एक्स्पोको समापन कार्यक्रममा सहभागी हुन नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती धरान आउने क्रममा विष्णु पादुकाको विकासको विषयमा उहाँले विष्णुपादुका, बराहक्षेत्र र खोटाङको हलेसी जोड्न आवश्यक रहेको बताउदै यस सम्बन्धमा सरोकारवालासँग बुझ्ने काम गर्ने बताउनुभयो ।
यो क्षेत्र धरान उपमहानगरपालिको कृषि पकेट क्षेत्र पनि हो । यहाँ अदुवा, बेसार तथा अम्रिसोको खेति हुने गरेको छ । तर सडकको अवस्था भने विगतमा गाविस हुदा जस्तो थियो त्यो भन्दा फरक छैन । उपमहानगर बनेपछि सर्दुमा एउटा पक्की पुल निर्माणबाहेक अरु काम हुन सकेको छैन । यस्ता धार्मिक पर्यटकीय क्षेत्र, कृषि क्षेत्रको विकास गरेर अगाडि बढेमात्र नेपालमा अधिक पर्यटन भित्र्याउन सकिन्छ नत्र भने पर्यटन प्रवद्र्धनको नारा नारामै सीमित हुने पक्का छ ।

तपाईको प्रतिक्रिया