पाँचथर (फिदिम) । नेपाल सरकारको गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको शुरुवाती विन्दु भारतको सिक्किम राज्यसँग जोडिएको पाँचथर जिल्लाको याङबरक गाउँपालिका वडा नं. २ स्थित चिवाभन्ज्याङ गणेशचौक सडकको काम सुस्त गतिमा अगाडि बढेको छ ।

पाँचथर जिल्लाको सदरमुकाम फिदिमको गणेशचौकबाट चिवा भन्ज्याङसम्म पुग्ने ६० किमी दुरी मध्ये हालसम्म थुर्पदोरोम्बासम्मको ९ किमी सडकको मात्र कालोपत्रे सडकको काम सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्ग फिदिम–भोजपुर सडक खण्ड आयोजनाका प्रमुख अर्जुनकुमार बमका अनुसार एक बर्ष भन्दा अगाडि नै गणेशचौकबाट थर्पुदोरोम्बासम्मको ९ किमी सडकको कालोपत्रे भइसकेको भएपनि बाँकी कामले गति लिन सकेको छैन । के कारणले बाँकी कामले गति लिन नसकेको होला त भन्ने जिज्ञासामा आयोजना प्रमुख बम भन्नुहुन्छ ठेकेदारको ढिलासुस्ती नै प्रमुख कारण हो । कामलाई गति दिन आग्रह गर्दा ठेकेदारहरु तरलतालाई अगाडि सार्छन । जबकी सरकारले तरलता देखाएकै छैन । थर्पुदोरम्बादेखि चिवाभन्ज्याङ सम्मको ५१ किमी सडकको ट्रयाक खुलिसकेको, सवारी साधनहरु चिवा भन्ज्याङसम्म आउजाउ गर्ने गरेको सुनाउँदै प्रमुख बमले यतिबेला सडकको स्तरोन्नति गर्ने, तारजाली लगाउने काम भइरहेको जानकारी दिनुभएको छ । यो सडक खण्डमा ११ वटा पुलमध्ये १० वटा पुल बनिसकेका छन् भने खण्डुवा खोलाको पुलको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । खण्डुवा खोलाको पुल ३ करोड ९२ लाखमा विरुवा गल्वा जेभिले निर्माण गरिरहेको छ । थर्पुदोरोम्बादेखि अगाडिको सडक रोशन शिव शक्ति जेभीले बनाउँदै गरेको योजना प्रमुख बमले बताउनुभयो ।
