६ पार्टी बीचमा एकीकरण

धरान । आम निर्वाचनमा अस्तित्व समेत जोगाउन नसकेका, एउटै उद्देश्य भएपनि कहिल्यै एकै ठाउँमा उभिन नसकेका ६ साना क्षेत्रीय राजनैतिक पार्टीबीचमा एकीकरणको सहमति भएको छ ।
गत शनिवार झापाको विर्तामोडस्थित अतिथि सदनमा भएको भेला पश्चात स–सानो झुण्डमा रहेका ती राजनैतिक पार्टी बीचमा एकीकरणको सहमति भएको हो । एकीकरणको सहमति गरेका ६ वटै राजनैतिक पार्टीहरु विगतमा लामो समयदेखि प्रदेश नं. १ को नाम लिम्बुवान वा  किराँत लिम्बुवानका लागि चरणबद्ध आन्दोलन गर्दै आएका हुन् ।


एकीकरणमा सहमत भएका राजनैतिक पार्टीहरुमा राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किरात लिम्बुवान प्रदेश नामांकन अभियान रहेका छन् ।  सहमति पश्चात राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वालाई एकीकृत पार्टीको नाम नजुर्दासम्म संयोजक तोकिएको छ । चाँडै नै सहमतिका आधारमा एकीकृत पार्टीको नाम राख्ने, झण्डा निर्माण गर्ने, चुनाव चिन्ह तय गर्ने, निर्वाचन आयोगमा दल दर्ता गर्ने, विधान बनाउने, आचारसहिता बनाउनका लागि कार्य सम्पादन समिति गठन गर्ने संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया