ठगी गरेको आरोपमा ३ जना पक्राउ

बिराटनगर । सहकारी सञ्चालन गरी ठुलो रकम ठगी
गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको  छ ।
पक्राउ पर्नेहरुमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भएर्का संस्थाको उपाध्यक्ष अनिता गौतम, झापाको भद्रपुर नगरपालिका–१४ घर भई विराटनगर महानगरपालिका–३ बस्ने सहकारी संस्थाको सचिव सविना न्यौपाने र विराटनगर महानगरपालिका–२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् ।  नेपालभरि कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर–२ मा रहेको र यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द अवस्थामा रहको थियो । बन्द गरेपछि सेयर सदस्यहरुले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलार्ई पक्राउ गरेको हो । उक्त संस्थाले बाल बचत÷ज्येष्ठ नागरिक बचत÷भविष्य सुनिश्चित बचत÷ सुपर पेन्सन बचत÷ अवधि बचत÷ कर्मचारी चल्ती बचत÷विशेष बचत÷ साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गते देखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए । सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा जाहेरी दिएको थिए ।  सोही जाहेरीको आधारमा ३ जनालाई पक्राउ गरिएको तथा अन्य ५ जनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया