धरान । विश्व शान्तिको कामना गर्दै आयोजित भद्र जयन्ति विविधि कार्यक्रम गरी सम्पन्न भएका ेछ ।
धरान ८ स्थित बुद्धविहार निर्माण भएको ६० बर्ष पूरा भएको अवसरमा भद्र जयन्ति मनाइएको हो । विश्वमा अशान्ति फैलिएको समयमा बुद्धको सन्देश प्रवाह गर्ने मुख्य उद्देश्य रहेको आयोजक बुद्ध विहारले जनाएको छ । बुद्ध विहारले भद्र जयन्ती (६० औं वार्षिक उत्सव) का अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकलाई सम्मान गरेमात्र जीवनले सार्थकता पाउने अभिप्रायले २० जना ज्येष्ठ नागरिक र भवन निर्माणमा सहयोग गर्ने ५ जनालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मानित हुने ज्येष्ठ नागरिकहरुमा तीर्थराज मोक्तान, टीका खड्का, कुशबहादुर तामाङ, ज्योतिराज शाक्य, चिनीदेवी शाक्य, निलकुमारी स्थापित, रामप्यारी प्रधान, सरला कायस्थ, आशा मोक्तान, शम्भु मोक्तान, भीम लामा, चम्पा लिम्बू, मिना राई, प्रेम केदेम, विमला मानन्धर, वसन्त पाखृन, शुभलता श्रेष्ठ, रम्भादेवी कर्माचार्य, पदमबहादुर दुम्जन र राजेन्द्र लिम्बू रहनुभएको छ ।
यस्तै विपश्यना ध्यान केन्द्र भवन निर्माणमा सहयोग गर्ने अभिनन्दित व्यक्तिहरुमा उदाष दम्पति कल्पराज उदाष र लीला उदास, मीना शाक्य, धर्मकुमारी मोक्तान र शाक्य दम्पत्ति उमेश शाक्य र पञ्चकुमारी शाक्यलाई सम्मान गरिएको थियो । विश्व शान्तिको कामना गर्दै आयोजित उत्सवमा भन्ते सोबितले सम्मानितहरुलाई बधाई दिँदै स्वास्थ्य कामनासहित जीवन रहेसम्म बुद्धको मार्गलाई पछ्याइरहन सन्देश प्रवाह गर्नुभयो । ज्येष्ठ नागरिकलाई घरपरिवार, समाजबाट सम्मानको खाँचो रहेको बताउदै ज्ञानमाला संघकी केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले उहाँहरुको समिपमा बसेर उहाँहरुले दिएको ज्ञान लिने काममात्र गरे धेरै ज्ञान प्राप्त हुने बताउनुभयो । विहारकी अध्यक्ष ज्ञानलक्ष्मी ताम्राकारले बुद्धविहार निर्माणपछि बुद्धको अनुयायीहरुलाई जीवनयापनमा सहज भएको बताउनुभयो । तीन दिनसम्म भएको भद्र जयन्तिको पहिलो दिन भिक्षु महासङ्घबाट ६० वटा दीप प्रज्वलन गरिएको थियो । समुद्घाटनपछि पन्चशील प्रार्थना तथा बुद्ध पूजा, विपश्यना ध्यान केन्द्र समुद्घाटन, भवनका दाताहरुलाई अभिनन्दन तथा सम्मान, पूण्यानुमोदना गरी भन्तेहरुलाई स्वागत गरिएको थियो । दोस्रो दिन बुद्धमूर्ति तथा महापरित्राण, पुस्तक जात्रा तथा भन्तेगणको परित्राण मण्डपमा प्रवेश, पन्चशील प्रार्थना, धर्मदेशना, महापरित्राण पाठ शुभारम्भ, अष्टपरिष्कार दान, पूण्यानुमोदना, परित्राण जल तथा सूत्र वितरण गरिएको थियो । त्यस्तै भद्र जयन्तीको अन्तिम दिन ज्येष्ठ नागरिकको सम्मान गर्दै, परित्राणपाठ र पूण्यानुमोदना गरी समापन
गरिएको थियो ।
