धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ । प्रतिष्ठानका निलम्बित किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरी र तत्कालीन स्वास्थ्य मन्त्री भवानी खापुङलाई मोटो रकम बुझाएर बरिष्ठतामा १०१ औ तह पछि रहेका अस्पताल निर्देशक डा जगत नारायणले कमिशन लिएर परल मूल्य भन्दा बढी मूल्यमा खरिद गरेका उपकरण, औषधि लगायतका कागजात अख्तियारको टोलीले सोमबार नियन्त्रणमा लिएका हो ।

यसभन्दा अगाडि पौषमा अस्पताल निर्देशक डा. जगत नारायणले ५६ लाखका म्याद गुज्रेका औषधि खरिद गरेर ४५ लाख रुपैया घोटाला गरेको प्रतिष्ठानको खरिद शाखाका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले भने अस्पताल निर्देशक डा. जगत नारायणकै निर्देशमा ५६ लाखको म्याद गुज्रन केही समय मात्र बाँकी रहेका औषधि खरिद गरिएको थियो । उनले ती औषधिहरु कमिशनकै चक्करमा खरिद गरेको समेत बताए । ती कर्मचारीका अनुसार म्याद गुज्रन केही समय मात्र बाँकी रहँदाका ती औषधि खरिद गर्दा ८० प्रतिशत सम्म कम्पनीले छुट दिन्छ । तर ती औषधीहरु परल मूल्य यथावत देखाई कम्पनी र व्यापारीको सेटिङ्गमा खरिद गरिएको थियो । उनका अनुसार कोभिडको समयमा अस्पताल निर्देशक प्रा.डा गौरी शंकर साह छँदा छँदै किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीले कमिशनकै लागि डा. जगत नारायणलाई कोभिड अस्पतालको हर्ताकर्ता बनाएका थिए । फार्मेसीमा कोभिडको समयमा डा. जगत नारायणकै संलग्नतामा १० करोडको औषधि
उपकरण खरिद गरिएकोमा त्यसवापत नारायणले ३ करोड कमिशन लिएर गिरीसँग भागबण्डा गरेका थिए ।
अदालतको आदेश विपरीत आइसियु खरिद
अदालतले खरिदमा रोक लगाउँदा लगाउँदै डा. गिरी र डा. जगत नारायणले करोडौको आइसियु खरिद गरी करोडौ कमिशन बजाएको प्रतिष्ठानका एक प्राध्यापकले बताए । तत्कालीन अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बोलपत्र रद्ध गर्न अदालतको आदेश पश्चात पत्र लेखेका थिए । उनी आफ्नो कार्यकाल समाप्त गरी आफ्नै विभागमा फर्किएपछि गिरी र नारायणले पत्रको अपव्याख्या गरी अदालतको आदेश समेत लत्याएर समान खरिद गरेका थिए । उनीहरुले ३० वटा आइसियु वेड, भेन्टिलेटर, इसिजी मेसिन, बेड साइट मनिटर लगायत २० आइटम सप्लाई डेलिभरी, इन्स्टलेसन समेतको बोलपत्र पेश गरेकोमा दुई बोलपत्रदाता मेडिकल सोलुसन प्रा.लि.को कवोल अंक १७, ४४, ७१, १४६ (भ्याट बाहेक)को तुलनामा २७.८२ प्रतिशत घटी रु १२,५९,३९०० (भ्याट बाहेक) रहेको
थियो । महालेखाले यसमा गम्भीर आपत्ति जनाएको भएपनि हालसम्म निजलाई कारबाहीको दायरामा नल्याउँदा उनले आश्चर्य व्यक्त गरे । बढी कबोल गर्ने बोलपत्र दाताको बोलपत्र स्वीकृति हुँदा प्रतिष्ठानलाई ४,७८,३२४५६ रुपैया व्यायभार भएको थियो ।
डरलाग्दो सेटिङ
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तहस नहस बनाउन निलम्बित उपकुलपति गिरी र आर्थिक बुझ बुझारथ गरेर अस्पताल निर्देशक भएका डा. जगत नारायण बीचमा डरलाग्दो सेटिङ रहेको प्रतिष्ठानका एक कर्मचाराीले बताए । डा. जगत नारायण एनेस्थेसिया विभागका सह प्राध्यापक मात्र हुन् । आइसीयु निजकै मातहतमा रहेको थियो । आइसियु उपकरण खरिद गर्न र फार्मेसीमा औषधी खरिद गर्न गिरीले सबैभन्दा कनिष्ठ एसमेनलाई अस्पताल निर्देशकमा नियुक्ति गरेका थिए । उनका अनुसार उपकुलपति गिरी, जगतनारायण, इलेक्ट्रोनिक इन्जिनियर राहुल मिश्र, अमित यादवको मिलीभगतमा सार्वजनिक खरिद ऐन र अदालतको आदेशलाई समेत धोती लगाइ कमिशनकै लागि म्याद गुज्रेका औषधि, उपकरण खरिद गर्ने गरिएको थियो उनले भने । हाल गिरी निलम्बित भएपछि तीन जनाको गठजोडले नियमित काम गरिरहेको पनि ती कर्मचारीले बताए ।
