धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको ड्रिम प्रोजेक्ट सावुन उद्योग स्थापनाको बाटो खुलेको छ । प्रमुख साम्पाङले सावुन उद्योग स्थापना गरी धरानमा रोजगारीको अवसर सिर्जना गर्न गरेको पहलमा जिल्ला डिभिजन वन कार्यालयले अवरोध गर्दै आएको थियो । वन क्षेत्रभित्र पर्ने जग्गामा सावुन उद्योग खोल्न अवरोधमात्र होइन उच्च अदालत विराटनगरमा मुद्दा समेत
दायर गरेको थियो । उद्योग स्थापनाको पहल भएको जग्गा खाली र रुखपात नभएको कारण प्रमुख साम्पाङले विगत केही महिनादेखि पहल गर्दै आएका थिए ।

माया धराने सावुन उद्योग उत्पादनका विरुद्धमा परेको रिट निवेदन फागुन २२ गते सोमबार खारेज भएको छ । विराटनगर उच्च अदालतमा अधिवक्ता स्वागत नेपाल लगायतका अन्य अधिवक्ताहरुले रिट निवेदनका विरुद्ध बहस गरेका थिए । माया धराने सावुन उद्योगको पक्षमा बहस गर्दै अधिवक्ता स्वागत नेपाल लगायतले उत्पादन र रोजगारीसँग सम्बन्धित विषयमा वनले अवरोध गर्न नमिल्ने तर्क प्रस्तुत गर्नुभएको थियो । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कमलकृष्ण अधिकारी र मुरारी श्रेष्ठको इजलासले डिभिजन वन कार्यालयको रिट निवेदन खारेज गर्दै उद्योग स्थापनाको बाटो खोलिदिनु भएको थियो ।
