सन्दकपुर फालोटमा २१ गोठस्टे

इलाम । भारतको पश्चिम बगालसँग सीमा जोडिएको इलाम जिल्लाको पर्यटकीय स्थल सन्दकपुर–फालोट क्षेत्रभित्र २१ वटा गोठस्टे रहेका छन् । अत्यन्तै मनमोहक प्राकृतिक दृश्यको अवलोकन गर्न आन्तरिक देखि वाह्य पर्यटकहरुको संख्या पछिल्ला दिनहरुमा ह्वात्तै बढेको सन्दकपुर गाउँपालिकाकी सूचना अधिकृत टिकादेवी बस्नेतले बताउनुभयो ।


सूचना अधिकृत बस्नेतका अनुसार इलाम सदरमुकाम र पाँचथरको थर्पु च्याँङ्गथापु हुँदै फालोटबाट १८ किमीको दूरी छिचोलेपछि सन्दकपुर पुगिन्छ । फालोट सन्दकपुर ग्राभेल सडक भएपनि अक्सर सन्दकपुर घुम्न जानेहरु ट्रेकिङ्गमा रमाउने गरेको भेटिन्छन् । पर्यटन कार्यालय काँकडभिट्टाले दिएको जानकारी अनुसार फालोट सन्दकपुर ट्रेकिङ्ग रुटमा २१ वटा गोठस्टेहरु रहेका छन् भने सडक मार्गमा त्यत्तिकै संख्यामा होमस्टेहरु छन् । क्षणक्षणमा मौसम परिवर्तन भइरहने, अत्यन्तै चीसो भएका कारण ट्रेकिङमा जानेहरु गोष्ठस्टेमै बास बस्ने गरेका छन् । फालोटमा एउटा सरकारी पाहुना घर भएपनि धेरैको रोजाई गोठस्टे नै  रहने गरेको बस्नेतले बताउनुभयो । गोठमा अतिथिहरुको स्वागत, चिसोमा आगो ताप्न पाइने, ताजा चौरीको दूध खान पाइने भएकोले पनि पर्यटकहरु गोठस्टेप्रति आकर्षित भएका हुन् । सन्दकपुरबाट चारराते, तीनसीमाना, फालोट, चिवाभन्ज्याङ्ग पुगिन्छ । सन्दकपुरको ट्रेकिङ्गमा चिनियाँ, बंगाली, सिक्किमे, युरोपेली पर्यटकहरु जाने गर्को र त्यहाँ १६ वटा आकर्षक बौद्ध गुम्बाहरु रहेका छन् । भारतको पश्चिम बंगलबाट सन्दकपुर र फालोटको सीमासम्म साना गाडीहरु चल्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया