धरान । पहिचान र ऐतिहासिकताका आधारमा प्रदेश नं. १ को नामाकरण हुनुपर्ने आवाज उठाउँदै आएका पहिचानवादीहरु कोशी नामाकरण भएपछि आन्दोलित भएका छन् । विगत लामो समयदेखि प्रदेश न. १ को नाम लिम्बुवान, लिम्बुवान किरात, किराँत आदि नामाकरण हुनुपर्ने भन्दै आवाज उठाउँदै उनीहरुले आन्दोलन गदै आएका थिए । यस भन्दा अगाडिको प्रदेशसभा बैठकले प्रदेश नं. १ को नामका लागि पहिचानवादीहरुको आन्दोलनकै कारण नामांकन गर्न सकेको थिएन । विगतमा प्रदेश नं. १ मा तीन जना मुख्यमन्त्री शेरधन राई, भीम आचार्य, राजेन्द्र राईले प्रदेशको नामांकन गर्न नसकी आफ्नो कार्यकाल सिध्याएका थिए ।

तर प्रदेशसभाको दोसो कार्यकाल प्रारम्भ भएसँगै गत बुधबारको प्रदेशसभा बैठकले दुई तिहाई वहुमतले प्रदेश नं. १ को नाम कोशी प्रदेश राखेपछि यतिबेला पहिचानवादीहरु संयुक्त आन्दोलनको तयारीमा जुटेका छन् । प्रदेशसभाका ९३ जना सासदमध्ये चार जना सासदले मात्र कोशी प्रदेशको विपक्षमा आफ्नो मत जाहेर गरेका थिए । नामांकनकै मुद्दालाई लिएर जनमुक्ति पार्टीले लिम्बुवानको पक्षमा इलामका ग्रामीण क्षेत्रबाट आन्दोलन चर्काएको छ भने किराँत मोर्चाले विज्ञप्ती प्रकाशित गरी फागुन २६ गते कोशी प्रदेश बन्दको आवहान गरेको छ । किरात मोर्चाले जारी गरेको विज्ञप्तीमा भनिएको छ नेपाल प्राचीन किराँत मुलुक हो । इतिहास, तामापत्र वि.सं. १८१४ मा स्पष्ट छ । प्रदेश नं. १ किराँत सभ्यता प्रदर्शनको उद्गम विन्दु हो । किराँतेश्वरले यहाँबाट किराँत सभ्यता, दर्शन, ज्ञान एक समय संसारमा फैलिएको सबैलाई थाहै छ । यति महान सभ्यता, राष्ट्रियता, इतिहासलाई अपमान वेवास्ता गरेर कोशी प्रदेश घोषणा यो माटो, सभ्यता, इतिहास र जनतामाथि ठूलो अपमान अपराध हो । यसको विरुद्ध सम्पूर्ण किराँत जनता न्यायप्रेमी समुदायका तर्फबाट कोशी प्रदेश खारेज गर किराँत राज्य (प्रदेश) घोषणा गर्न १ बुँदे माग राख्दै २०७९ फागुन २६ गते प्रदेश नं. १ मा आम हड्ताल (बन्द) घोषणा गर्दछौं । विज्ञप्तीमा भनिएको छ आन्दोलनरत पहिचानवादी संगठनहरुलाई ऐक्यवद्धता, सहभागिता, समर्थन गर्न सम्पूर्ण किराँत जनताको साझा मोर्चा किराँत मोर्चा आवहान गर्दछ । साथै बन्दमा सहयोगका लागि सम्पूर्ण जनसमुदाय, व्यावसायी, पेशााकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, यातायात मजदुर सबैमा हार्दिक अपिल गर्दछौै विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीका अनुसार फागुन २६ गते बजार, यातायातका साधन, शैक्षिक संस्था लगायतका रहेका छन् भने एम्बुलेन्स, शववहान, दमकल, सुरक्षाकर्मीका साधन, अन्तर्राष्ट्रिय कुटनीीतक नियोगका सावरी साधनहरु सञ्चालन गर्न पाउने जनाएका छन् । विज्ञप्तीमा बन्द उल्लंघन गरेर क्षति हुन गएमा स्वयम् उल्लंघनकर्ता, राज्य पक्ष जिम्मेवार हुने समेत चेतावनी दिइएको छ ।
त्र
