धरान उपमहानगरपालिका वडा नं. १७ को एक घरमा ग्याँस विस्फोट हुँदा आठ जना घाइते भएका छन् । धरान १७ रेल्वेस्थित आदर्श चौकमा सोमबार करिब ५ बजेतिर ग्याँस विस्फोट भएको थियो ।
स्थानीय सविता राईको घरमा ग्याँस विस्फोट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईको घरमा डेरा गरी बस्ने अञ्जना राईले ल्याएको कोशी ग्यास जोड्ने क्रममा ग्याँस लिक भएको थियो । कोशी कम्पनीको सो ग्याँस जोड्ने क्रममा विस्फोट भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार ग्यास लिक भएपछि बनाइदिन कोशी ग्याँसका कर्मचारीलाई अन्जनाले आग्रह गरेपछि कर्मचारी अनिश कार्की र बासुदेव खड्काले लिक भएको ग्याँस जोडेका थिए । जोड्ने क्रममै ग्याँस सिलिण्डर पड्किएको थियो । ग्यास पड्केर ८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा अन्जना राई, अन्जना राईकी ६६ बर्षीया आमा राजकुमारी राई, १० बर्षका छोरा सोनिका
राई तथा ८ बर्षकी छोरी साङ्केन राई, घरधनी सविता रार्ई रहेका छन । त्यस्तै कोशी ग्यासकै कामदारहरु धरान ११ बस्ने १९ बर्षका अनिश कार्की तथा सिरहा बन्दीपुरका १८ बर्षका बासुदेब खड्का घाईते भएका हुन । ग्यास पड्केर घाईते भएका सबैको बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । चिकित्सका अनुसार उनीहरुले शरीरको विभिन्न भागमा आगोले जल्नुका साथ साथै कपाल समेत डढेको छ बताइएको छ । घट्नाबाट घरको झ्यालको सिसा समेत फुटेको स्थानीयले बताएका छन् । े डिएसपी मल्लले घटनाको विषयमा थप थप अनुसन्धान
भइरहेको बताउनुभयो । डिएसपी मल्लका अनुसार घाइते सोनिका राई र सविता राईको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुलाई थप उपचारका लागि अन्यत्रै लाने तयारी भइरहेको डिएसपी मल्लले बताउनुभयो ।
