गल्फ खेललाई सरकारी स्तरबाट सहयोग भएन

धरान । गल्फ खेल । यसलाई विश्वले खेलको रुपमा लिए पनि नेपालमा भने यस खेलको विकासमा कसैले चासो देखाएको पाइँदैन । सीमित साधन र स्रोतका बाबजुद सरकारी सहयोग नभए पनि गल्फ खेल सम्बन्धी क्लबहरुले आफ्नो बलबुतोले भ्याएसम्म यो खेललाई निरन्तता दिदै आएका छन् ।  निरन्तता दिएकै सार्क गेम स्तरीय गल्फ प्रतियोगितामा धराने युवाहरुले नेपालको शाख राख्न सफल भएका छन् । सरकारले यो खेलको प्रवद्र्धन गर्न नसकेको समयमा धरान उपमहानगरपालिका १९ नं. वडा समितिले भने यस खेलको प्रवद्र्धनका लागि प्रयास गर्दै आएको छ ।


नेपालमा अझै पर्याप्त गोल्फ कोर्स छैन । नेपाल अधिराज्यभरि ७ वटा गल्फकोर्स रहेको छ । पूर्वाञ्चलमा एकमात्र गल्फकोर्स धरानमा मात्र छ । काठमाण्डौमा तीनवटा, पोखरामा एक, चितवनमा एउटा छ । नेपालमा व्यवसायिक गल्फ खेलाडी करिब ६० देखि ७० जना सम्म रहेका छन् । व्यवसायिक गल्फ खेलाडीको भविष्य राम्रो भए पनि यस खेलको प्रवद्र्धनमा कसैले गरेको पाइदैन । धरानको निर्वाणा गल्फ कोर्समा सूर्य इस्टर्न गल्फ प्रतियोगिता, खुकुरी गल्फ प्रतियोगिता जस्ता ठूला गल्फ प्रतियोगितासँगै आधा दर्जन साना गल्फ प्रतियोगिता हुने गरेको छ । तर पनि प्रसस्त खेलाडी उत्पादन हुन सकेको छैन । स्थानीय, प्रदेश र संघीय सरकारले गल्फ खेलाडी उत्पादनम जोड नदिएको अवस्थामा धरान उपमहानगरपालका १९ नं. वडा समितिले भने गल्फ खेलाडी उत्पादनमा केही जोड दिँदै आएको छ । भर्खरैमात्र वडाले चौथो चेयरमेन कप सम्पन्न गरेको छ । प्रत्येक बर्ष प्रतियोगिता गर्नुको प्रमुख कारण गल्फ खेल सम्बन्धी सबैलाई बुझाउँदै यस खेलको विकास गर्ने रहेको वडाध्यक्ष पूर्णबहादुर लिम्बु बताउनुहुन्छ ।  यो खेल महँगो सौखिन खेलसँगै गल्फ खेल्दा प्रयोग एउटा बलको २ हजारसम्म पर्ने, बल हिर्काउने स्टिक कम्तिमा १ लाख देखि १ लाख ५० हजार, खेल्दा लगाउने ड्रेस उत्तिकै महँगो पर्ने हुदा यसलाई सौखिन खेलको रुपमा लिइन्छ यसैको कारण यो खेलको प्रमोढ गर्न नसकिएको उहाँ बताउनुहुन्छ । १९ नं. वडा समितिले गर्दै आएको प्रतियोगिताले खेलाडीहरुलाई खेल्न केही सहज भएको गल्फ खेलाडीहरु बताउँछन् । हुन त यही धरानको गल्फ क्लबबाट उत्पादन भएको खेलाडी शुक्रराज राई, टंक बहादुर कार्की, निरज तामाङ एमेच्योर हुदा सार्क गेममा गोल्ड मेडल जितेका थिए । यस्तै यहीबाट उत्पादन भएको सविन सापकोटा राष्ट्रिय खेलाडीसँगै अहिले नेपाली खेलाडीलाई मात्र हैन जर्मनका विभिन्न विद्यालयमा गल्फ सिकाउदै आउनु भएको छ । मुलुकमा गल्फकोर्स पर्याप्त नहुनु, सरकारले गल्फ खेलाडीको प्रवद्र्धन नगर्नु, सानै उमेरदेखि गल्फ खेलमा लाग्ने वातावरण सिर्जना नगर्नु लगायतका विविध कारणले गल्फ खेलले सोचेजस्तो फड्को मार्न नसकेको खेलाडी तथा ट्रेनर सविन सापकोटा बताउनुहुन्छ । गल्फ खेलको लागि धरानमा जे जति काम भइरहेको छ त्यो पर्याप्त भने छैन । गल्फ खेलमा लागेकाहरुले यो खेलको प्रवद्र्धनमा लागे पनि सरकारले यसतर्फ ध्यान दिन सकेको छैन । धरान गल्फ क्लबले विभिन्न प्रतियोगिता आयोजना गरेसँगै धरान उपमहानगरपालिकामा धरान १९ ले मात्र गल्फ कोर्ष स्थापना गरेर खेललाई निरन्तता दिँदै आएको छ । यस खेलको प्रवद्र्धन गर्ने हो भने तीनै तहका सरकारले यसको प्रवद्र्धन गर्ने खालका काम गर्न आवश्यक छ ।

 

तपाईको प्रतिक्रिया