अर्थे युवा क्लबद्वारा साहित्य, सँस्कृति महोत्सवको आयोजना

पाँचथर । आफ्नो कला, सँस्कृति र सम्पदाको संरक्षणमा पाँचथरस्थित अर्थे युवा क्लब विगत केही बर्षदेखि निरन्तर लागिरहेको छ । गत शनिवार क्लबले पाँचथरको शिवामा कला साहित्यिक महोत्सवको आयोजना समेत  गरेको छ । फिदिम नगरपालिका वडा नं. ६ शिवामा यस भन्दा अगाडि पनि महोत्सवको आयोजना हुने भएता पनि यस पटकको महोत्सव विगतको भन्दा पृथक रहेको सहभागी स्थानीयहरुले जनाएका छन् ।


जातीय हिसाबले लिम्बुृ, राई, मगरको वाहुल्यता रहेको उक्त महोत्सव समुदायमै आधारित साँस्कृतिक नृत्य, रैथाने भाषामै कविता, गजल प्रस्तुत गरिएको थियो । उनीहरु आफ्नै जातीय भेष भुषामा महोत्सवमा सहभागी भएका थिए । महोत्सवको सबैभन्दा आकर्षक पक्ष के थियो भने लिम्बु समुदायका वयस्क, बृद्धाहरुले मात्र नभएर युवा पुस्ताकाहरुले समेत च्याब्रुङ बजाएर महोत्सवलाई थप रौनकता दिएका थिए । यसैगरि  राई समुदायका युवायुवतीहरुले साकेलासिल्ली र मगर युवा समुदायका युवाहरुले हुर्रा र गौडा नृत्य प्रस्तुत गरेका थिए । स्थानीय बृद्ध बृद्धाका अनुसार शिवा महोत्सव वि.सं. १८८२ सालदेखि आयोजना हुँदै आएको छ । विगतमा र वर्तमानमा आयोजना हुने महोत्सवको स्वरुप फेरिएको उनीहरुको कथन छ । महोत्सवमा लिम्बुु सँस्कृतिमा आधारित पाःलमसँगै अन्य समुदायहरुले पनि कविता गजल प्रस्तुत गरेको महोत्सव आयोजक समितिका संयोजक सन्देश सुब्बाले जानकारी दिनुभयो । महोत्सवमा नृत्य, कविता र गजल वाचन गरेका स्रस्ष्टाहरुलाई प्रदेश न. १ का प्रदेशसभा सांसद मैया श्रेष्ठ लावतीले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको  थियो । सो अवसरमा बोल्दै उहाँले आफ्नो मौलिक कला, सँस्कृतिको जगेर्ना गर्न युवा पुस्ताहरु सक्रिय हुनु अत्यन्तै सुखद पक्ष भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया