धरान । नागरिकता प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद र मन्त्री पद खुस्किएपछि गैर सांसदको हैसियतले पूर्व सहमति अनुरुप आफूले गृहमन्त्री नपाएपछि सरकारबाट बारिहएको घोषणा गर्दै आइतबार सञ्चार माध्यमप्रति लगाएको आक्षेपको नेपाल पत्रकार महासंघले घोर आपत्ति जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबारै एक विज्ञप्ती प्रकाशित गरी रास्वपाका अध्यक्ष लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो ।
विज्ञप्तीमा भनिएको छ संसदको चौथो ठूलो दलका अध्यक्ष उपप्रधान तथा गृहमन्त्री समेत रही सकेका व्यक्तिले सञ्चारक्षेत्र प्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार हो । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता व्यक्त गर्दछ । लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घट्ना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारका पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुनेछैन । विज्ञप्तीको अन्त्यमा भनिएको छ, सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित सामाग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धत अनुसार अगाडि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ । लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्दछ । साथै आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्दछ ।
