दमकमा बहु प्राविधिक शिक्षालय बन्ने

दमक (झापा) । दमक उपमहानगरपालिका वडा नं ४ कृष्ण मन्दिर दक्षिण अर्नाखाडीमा दमक वहुप्राविधिक शिक्षालय भवन निर्माण हुने भएको छ । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भवनको शिलान्यास गर्नुभएको छ । अर्नाखाडीमा बन्ने शिक्षालय भवन १६ कोठाको तीन तलाको  रहने र सोको लागत ४ करोड ६४ लाख रहेको छ । यसभन्दा अगाडि उक्त शिक्षालय दमक २ स्थित बेलडागीमा सञ्चालन हुँदै आएको थियो । हाल शिक्षालयले तीन बर्षे इन्जिनियरिङ्गको सिभिल डिप्लोमा तर्फ अध्यापन गराउँदै आएकोमा आगामी श्रावणदेखि मेकानिकल, अटो मोवाइल्स, रेफ्रिजेरेशन इन्जिनियरिङ्गको अध्यापन समेत शुरु गर्ने भएको छ ।


भवन निर्माणका लागि दमक नगरपालिकाले अर्नाखाडीमा तीन विघा १० कट्ठा जग्गा उपलब्ध गराएको छ भने स्थानीय सर्वसाधारणले निःशुल्क १३ कट्ठा जग्गा उपलब्ध गराएका छन् । शिक्षालय भवन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटीको आंगिक क्याम्पसको रुपमा रहने भएको छ । सो अवसमा बोल्दै एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीले शिक्षालयको स्थापना र सञ्चालनले उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य मात्र नभएर संसारका जुनसुकै कुनामा प्रमाणपत्रले मान्यता पाउने बताउनुभयो । शिलान्यास कार्यक्रममा दमक नगरपालिकाका मेयर राम थापा, प्रदेश नं. १ का मुख्य मन्त्री हिक्मत कार्की, संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, प्रदेश नं. १ का सांसद होमबहादुर थापा, नम्बरलाल धिताल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया