किसानका उत्पादन सडकमा : सरकार सत्ताको रडाकोमा

युवा जनशक्ति निर्यात गरेर रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र घिटघिटो गरेर चलेको नेपालमा कुनै पनि क्षेत्रमा जनताले सन्तोष गर्ने ठाउँ पाएका छैनन् ।
गत हप्ता चितवनका किसानले आफूहरुले उत्पादन गरेका तरकारी, फलफूल सडकमा फाल्दै नालायक सरकार र निकम्बा सरकारका विरुद्धमा प्रदर्शन गरे । नेपाली किसानहरुले महिनौसम्म खेत खनीखोस्ती, खाइ नखाई उत्पादन गरेका तरकारी ,फलफुल गत हप्तामात्र सडकमा फालेका भने होइनन् । यस्तो नियति विगतमा पनि देखिएको थियो । त्यसबेला पनि सरकारका विरुद्धमा प्रदर्शन भएका थिए । बारम्बार किसानहरुले आफ्ना उत्पादन सडकमा फाल्ने, दूध पोख्ने काम किन गरिरहेका छन् भन्ने हेक्का सरकारमा बस्नेलाई पनि भँलिभाँति ज्ञात छ । तर जहिल्यै सरकार सत्ताको रडाकोमा रुमलिन्छ । नेपालमा उत्पादन हुने तरकारी भारतको भन्दा सस्तो हुनुपर्ने हो । तर भारतबाट आयात गरिएको तरकारी नेपालको भन्दा सस्तो नेपाली बजारमा पाइन्छ । यसका प्रमुख कारण भारत सरकारले किसानलाई अनुदान दिन्छ । बिउ विजनदेखि सिँचाइका लागि डिल, बजारको व्यवस्था समेत सरकारले गरिदिन्छ । जसका कारण नेपाली उत्पादन भन्दा भारतीय उत्पादन सस्तो हुन्छ । अब यो स्थितिको अन्त्य गर्न मुलुकमा सशक्त किसान आन्दोलन अपरिहार्य भइसकेको छ । कथांकदाचित भोलिका दिनमा साँच्चै नै किसान आन्दोलन भएमा त्यसको दुष्परिणाम भयावह पनि हुन सक्छ । सरकारले बेलैमा यसतर्फ संवेदनशीलता अपनाउन आवश्यक छ । नेपालमा कृषि मन्त्रालय छ, कृषि अनुसन्धान परिषद् छ अर्थात कृषि सम्बन्धी आधा दर्जन भन्दा बढी निकायहरु छन् । तर नेपाली किसानले कृषि उत्पादनका लागि कहीँ कतैबाट कुनै राहत पाउँदैनन् । विउ विजन खरिददेखि सम्पूर्ण व्यवस्था आफै गर्नुपर्छ । सरकारले बजेटमा कृषि अनुदानको कुरा ठूलठूलो स्वरमा फलाक्ने गर्छ । तर कृषि अनुदान कृषि कर्ममा लाग्दै नलागेकाहरुले हत्याइ रहेका छन् । त्यसरी अनुदान हत्याउनेहरुमा सत्तामा बसेका मन्त्रीका सात पुस्तासम्मका आफन्त, नातागोता, माफियाहरु नै हुन्छन् ।
खुल्ला र प्रतिष्पर्धात्मक बजारमा भारतीय आयात रोकिनु हुँदैन तर भारतीय तरकारीको अनुपातमा नेपाली उत्पादनलाई कसरी सस्तो बनाउन सकिन्छ भनेर योजना अनुरुप काम गर्न सकिन्छ । तर सरकारको कृषि सम्बन्धी कुनै योजना नै छैन । सरकारले नेपालीहरुले उत्पादन गरेको कृषिजन्य सामान निःशुल्क रुपमा बजार सम्मको पहुँचमा पु¥याइदिए पनि उनीहरुलाई केही राहत हुने थियो । यहाँ त किसान र नेपाली उपभोक्ता दुवै पीडित छन् । बिचौलिया र व्यापारी रातारात तिनै किसानका उत्पादन बेचेर करोडपति बनेका छन् । आज चितवनका किसानहरुले मात्र होइन भोलि यही अवस्था अर्थात सरकार सत्ताको रडाकोमा मात्र लागिरहने हो भने अन्यत्रका किसानले पनि आफ्नो उत्पादन सडकमा फाल्नुपर्ने अवस्था हुन्छ । त्यसै सुभाष आचार्यले सामाजिक सञ्जालमा लेखेका छैनन् ‘बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउ उमेर छैन, किसानको मार्का बुझ्ने केही छैन । भारतीय तरकारीले बजार ढाकेको छ । विचौलियाहरुले बजार ध्वस्त बनाएका छन् । कसले बुझिदिने किसानको पीडा ?’

तपाईको प्रतिक्रिया