दुई बर्षपछि पुष्प व्यापार मेला आजबाट शुरु

धरान । कोभिडको संक्रमणकालीन समयमा सबै व्यवसाय चौपट बन्यो । कोरोनाले व्यवसायीहरु व्यवसायिक घाटा व्यहोर्दा उठ्न नसक्ने अवस्थामा पुगे । यस्तै अवस्था पुष्प व्यवसायीको समेत रहयो । कोरोनाकै कारण स्वदेशी फूलको प्रवद्धृनका लागि गरिदै आएको पुष्प प्रदर्शन मेलाको आयोजना गर्न सकेनन् । अहिले विस्तारै सहज बन्दै गएपछि फेरि व्यवसायीहरु जुर्मुराउन थालेका छन्, प्रत्येक बर्ष हुदै आएको पुष्प व्यापार तथा प्रदर्शनी मेला आयोजना गर्ने भएका छन् ।


कोभीड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पूष्प व्यापार प्रदर्शनी मेला धरानमा यस बर्ष हुने भएको छ । स्वदेशी फूलको प्रवद्र्धन गर्ने उद्देश्यले कोरोनाले बनाएको असहज परिस्थिति विस्तारै सहज बन्दै गएपछि उनीहरुले माघ २५ (आज) देखि २९ गतेसम्म ५ दिन पुष्प व्यापार तथा प्रदर्शनी मेलाको आयोजना गर्न लागेका हुन् । मेला प्रदेश १ सरकार र धरान उपमहानगरपालिकको सहयोगमा हुन लागेको हो । विगतमा आह्रालो लागेको व्यवसायलाई माथि उठाउन र पुष्प व्यवसायीलाई व्यवसायिक बनाउन मेलाको आयोजना गर्न लागिएको नेपाल फ्लोरीकल्चर एसोसिएसन सुनसरीका अध्यक्ष खगेन्द्र पोख्रेलले बताउनुभयो । फ्लोरिकल्चर एशोशियसन नेपालको आयोजनामा हुने पूष्प व्यापार प्रदर्शनी मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने संयोजक रामकुमार राईले जानकारी दिनुभयो । उहाँले नेपाली फूललाई प्रवद्र्धन गर्न महोत्सव थालिएको भएपनि अहिले पनि विदेशी फूलले नेपाल प्रवेश गर्न नछाडेको तीतो यथार्थ बताउनुभयो । यसको प्रमुख कारण व्यवसायीहरु एक जुट नभएकै कारण नेपालको फूल प्रवद्र्धनमा समस्या भएको व्यवसायीहरुले बताएका छन् । पवित्रा नर्सरीकी सञ्चालिका कल्पना लिम्बुले अहिले यो मेला एक नं. प्रदेश स्तरीय भए पनि सबै व्यवसायी नआउने बताउदै अहिले पनि पुष्प व्यवसायीको एकता नभएको प्रष्ट पार्नुभयो । धरानका पुराना पुष्प व्यवसायी तथा एसोसिएसन सुनसरीका सदस्य प्रेमप्रसाद पराजुलीले अन्य मेलाभन्दा पुष्प व्यापार तथा प्रदर्शनी मेला सुद्ध भएको बताउँदै अन्य मेलामा जुवातास, जाँडरक्सी हुने भएपनि यो मेला सुद्ध फूलको मात्र हुने गरेको बताउनुभयो । उहाँका अनुसार मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल राखिने जानकारी छ भने मेलामा कम्पोस्ट मल, बीउ बिजन, कृषि औजार र उपकरण, विषादीका साथै प्रदेशमा उत्पादन र बिक्री हुने फूलहरुका स्टल राखिने भएको छ ।  यस मेलामा पूष्प व्यावसाय गर्न चाहने घर आँगन तथा बगैँचा सजाउन चाहने सबैका निम्ति उपयोगी हुने विश्वास लिएको उहाको भनाई छ । नेपालमा ०११ सालदेखि पूष्प व्यवसाय सुरु भएको मानिन्छ । ६ सय ९७ नर्सरी स्थापना भएको फ्लोरिकल्चर एशोशियसनको तथ्याङ्क छ । फूलको कारोबार वार्षिक २ अर्बको भइरहेको तथ्याङ्क छ । प्रदेश १ मा ६५ भन्दा बढी पूष्प व्यवसायी रहेको र वार्षिक १३ करोडको कारोबार भइरहेको तथ्याङ्क छ भने व्यवसायमा ४० करोड बढी लगानी रहेको छ । प्रदेश १ मा २ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष, अप्रत्यक्ष रोजगार प्राप्त गरेको तथ्याङ्क छ । आयोजित मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ७० लाखको व्यावसायिक कारोबार हुने अपेक्षा लिइएको छ ।

तपाईको प्रतिक्रिया