राजविराज । भारत नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारद्वारा निर्मित मधेश र बागमती प्रदेशमा ११ वटा योजनाहरु हस्तान्तरण गरिएका छन् । हस्तान्तरण गरिएका योजाहरुमा ६ वटा विद्यालय भवन रहेका छन् भने ५ वटा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित योजनाहरु रहेका छन् । गत आइतबार नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका कन्सुलर जेनेरलले विभिन्न स्थानमा निर्मित योजनाहरु हस्तान्तरण गर्नुभएको हो ।

नव निर्मित विद्यालय भवनले त्यस क्षेत्रका जनताको शिक्षा र स्वास्थ्यको पहुँचमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले सिरहामा निर्मित महेन्द्र गेनाई मेमोरियल मेटरर्निटी (Mahendra Genai Memorial Meternity) र शिशु स्याहार अस्पताल (Child welfare Hospital),श्रीराम जानकी माध्यामिक विद्यालय भवन हस्तान्तरण गर्नुभएको थियो । यसैगरि राजदुत श्रीवास्तवले सप्तरी जिल्लाको राजविराजमा निर्मिति गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, श्री नरेन्द्र मेमोरियल पब्लिक सेकेण्डरी स्कुल र जनता रामेश्वर मेमोरियल सेकेन्डरी स्कूल हस्तान्तरण गर्नुभएको थियो । राजदुत श्री वास्तवले बागमति प्रदेश अन्तर्गत रहेको सिन्धुलीमा भारतीय सहयोगमा निर्मित चण्डेश्वरी सेकेण्डरी स्कुल, भवानी सेकेन्डरी स्कुल र कुशेस्वर दुम्जा, भुवनेश्वरी र बानेश्वरमा निर्मित ३ वटा हेल्थपोष्ट समेत हस्तान्तरण गर्नुभएको थियो । यसैगरि भारतीय महावाणिज्य दुतावास विरगञ्जका महावाणिज्य दुत नितेश कुमारले सर्लाही जिल्लामा निर्मित रामसखी मोहित सिंह जनता सकेन्डरी स्कुल हस्तान्तरण गर्नुभएको थियो ।
