धरान । धरानको एक सामुदायिक विद्यालय भौतिक सुविधासम्पन्न भएपनि विद्यालयको जग्गा संरक्षण हुन नसक्दा दाताकै भरमा चलाउनुपर्ने अवस्था छ । ४९ बर्ष अगाडि धरान १६ मा स्थापना भएको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) को जग्गा अथाहा छ तर संरक्षण गर्न नसक्दा जग्गा अधिक्रमण भएको छ । विद्यालयको सम्पत्ति धेरै भएपनि यो विद्यालय दाताको भरमा चलेको छ ।
सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धेरै योजनाहरु ल्यायो । विद्यालयको शैक्षिक स्तर उकास्न शिशुदेखि नै अंग्रेजी माध्यमबाट पठाई शुरु भयो तर पनि यस्ता विद्यालको शैक्षिक गुणस्तर सुध्रिएको छैन । जसले गर्दा महंगो शुल्कमा अभिभावकहरुले आफ्ना नानीहरु पढाउन बाध्य छन् ।

विद्यालयको पर्याप्त भौतिक सम्पत्ति हुदाहुदै पनि संरक्षण गर्न नसक्दा विद्यालय दाताको भरमा संचालन गर्नुपर्ने अवस्था रहेको छ । यसको प्रत्यक्ष उदाहरणको रुपमा धरान १६ को पञ्चकन्या आधारभूत विद्यालय हो । विद्यालयले ३ कट्टा १८ धुरमा भौतिक संरचना बनाएको छ । यस्तै धरान १९ को हरियाली पार्कदेखि उत्तरपटि साढे दश कट्टा, धरान १७ एन्फा एकाडेमी पूर्व सप्तरंगी पार्कको पूर्वपट्टि ६ विगाहा १९ कट्टा, धरान १६ विजुली अफिस पूर्व १ कट्टा ९ धुर, धरान ११ मा १ कट्टा जग्गा रहेको छ । अरबौ पर्ने यी जग्गा अहिले संरक्षण नहुदा अतिक्रमण हुदै गएको छ । विद्यालयको संरक्षणका लागि स्थानीय सरकारलाई जिम्मा दिइएको छ । सोही अनुरुप विद्यालयका प्रअ. कृष्ण भट्टराईले जग्गा संरक्षणका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समक्ष भदौमा नै निवेदन दिएको भएपनि स्थानीय सरकारले समेत वेवास्ता गरेको प्रअ भट्टराईले बताउनुभयो । उहाँले जग्गा संरक्षण गरेर भौतिक पूर्वाधार निर्माण गर्न स्थानीय, प्रदेश र संघले सहयोग गर्ने हो भने सहयोगको हात फैलाउनु नपर्ने बताउनुभयो । यो विद्यालयमा सुकुम्बासी तथा भूमिहिनका बालबालिका अध्ययन गर्छन् । ८ कक्षासम्म सञ्चालन यो विद्यालयमा ९३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय सञ्चालन गर्नका लागि चाहिने कम्प्युटर, इन्टरनेट लगायतका कुराहरुमा वैदेशिक ्ररोजगारीमा गएकाहरुले सहयोग गरेको प्रअ भट्राई बताउनुहुन्छ । यो त एउटा उदाहरणमात्र हो, यस्ता धेरै सामुदायिक विद्यालय भौतिक पूर्वाधारले सम्पन्न हुदाहुदै पनि गरिबीको सामना गर्दै सञ्चालन गर्नुपर्ने अवस्था छ । भएका जग्गाको सदुपयोग गर्दै विद्यालयको स्तरोन्नतिसँगै आर्थिक आर्जन गर्ने माध्यम सरकारले बनाइदिने हो भने सामुदायिक विद्यालयहरु नजुक अवस्थामा सञ्चालन गर्नुपर्ने अवस्था आउने थिएन । स्थानीय स्तरका विद्यालयको संरक्षण स्थानीय सरकारले संरक्षण गर्ने जिम्मा पाए पनि विद्यालयले नै संरक्षण र भोगचलन गराई पाऊँ भनेर निवेदन नै गर्दा पनि धरान उपमहानगरपालिकाले वास्ता गरेको छैन । यस्ता सामुदायिक विद्यालयहरुको सम्पत्ति संरक्षणमा सरकार नलागे विद्यालयको सम्पत्ति अतिक्रमणमा परी नामेट अवस्थामा नपुग्ला भन्न सकिन्न । यसतर्फ संरक्षण गर्ने निकाय गम्भीर हुन जरुरी छ ।
