धरान । मोफसलको अन्र्तराष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिता बुढा सुब्बा फुटवल प्रतियोगिताको २३ औं संस्करण यही फागुन दोश्रो सातादेखि हुने भएको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन । यो बर्षको फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ ।

कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले बताउनु भयो । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सदा झै ८ वटा ए डिभिजन क्लवहरुले सहभागिता जनाउने छन् । काठमाडौका २ वटा, पोखराको एक टिम, भारतको २ टिम र प्रदेश १ बाट आयोजकसहित ३ वटा क्लवका स्तरीय टिमहरुले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिनुभयो । एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लवले जनाएको छ । दुई बर्ष देखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालाहरुसँग छलफल सुरु गरिएको अध्यक्ष राईको भनाई थियो । आर्थिक अभावले २२ औं संस्करणको बाँकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ । अध्यक्ष राईले २३ औं संस्करण भव्य समापन गरेर क्लवको नेतृत्व पनि हस्तान्तरण गर्ने तयारी गरेको जानकारी गराउनु गराउनु भएको छ । २२ औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मर्साङदी क्लव काठमाडौं विजयी भएको थियो ।
