धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीहरुको आधिकारिक संगठन कर्मचारी कल्याण समाजको पौष २३ गते शनिवार भएको निर्वाचनमा अध्यक्षमा कविता ढकाल भारी मतले विजयी हुनु भएको छ । प्रतिष्ठानको इन्फेक्सन कन्ट्रोल इन्चार्ज रहेर विगत २३ बर्षदेखि प्रतिष्ठानमा कार्यरत ढकालले आफ्ना निकटत्तम प्रतिद्वन्द्वी किशोरप्रसाद पोख्रेलाई ४९ मतले पछि पार्नुभएको थियो । निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले दिनुभएको जानकारी अनुसार समाजको निर्वाचन ९ बर्षपछि भएको हो । यस भन्दा अगाडि तदर्थ समितिले कर्मचारीहरुको हक हितका लागि आवाज उठाउँदै आएको
थियो ।

अध्यक्षमा निर्वाचित ढकालले ३६६ मत प्राप्त गर्नुभएको थियो भने किशोरप्रसाद पोख्रेलले ३१७ मत प्राप्त गर्नुभएको थियो । नर्सिङ, प्यारामेडिक्स र प्रशासनतर्फका कर्मचारीहरुमात्र आवद्ध समाजको जम्मा १३२६ मत रहेको थियो । जसमध्ये १२१० मत पोलिङ भएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनमा नर्सिङ र प्यारामेडिक्स बीचमा गठबन्धन भएको र दुवैको मत ८ सय रहेको थियो । प्रशासनतर्फ ५२६ मत रहे पनि अध्यक्षमा कार्यगत एकता हुन नसक्दा ६ जनाले उमेद्वारी दिएका थिए । यसैगरी अध्यक्षका अन्य आकांक्षीहरु सञ्जिवकुमार कर्णले १९५, महेश्वर राईले १६३, भुपध्वज बुढाथोकीले ९८, मदनकुमार हलुवाईले १९ र किरणप्रसाद भट्टराईले जम्मा ११ मत प्राप्त गर्नुभएको थियो । विधानत ः २४ जनाको कार्यसमिति रहने समाजको बरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेत,
बरिष्ठ महिला उपाध्यक्षमा धनकुमारी घिसिङ, प्रशासनिक उपाध्यक्षमा श्यामसुन्दर मेहता निर्वाचित भएा भने नर्सिङ उपाध्यक्षमा सफला बुढाथोकी निर्वाचन अगावै निर्विरोध निर्वाचित भएकी थिइन् । यस्तै
प्यारामेडिक्स उपाध्यक्षमा उत्तमकुमार श्रेष्ठ, महासचिवमा मुकेशकुमार साह, सचिवमा रेणुका खड्का, कोषाध्यक्षमा अजयकुमार साह, प्रशासनिक सदस्यमा एलिना तामाङ, जितेन्द्रकुमार उराउँ, दिपाकुमारी सेवा, नर्सिङ सदस्यमा कुमारी कल्पना साह, इन्द्रकुमारी सिंह, मैया श्रेष्ठ, पारामेडिक्स सदस्यमा ज्योति देव, डम्बरबहादुर तामाङ, चन्देश्वर साह र खुल्ला सदस्यहरुमा ६ जना निर्वाचित भएका थिए । जसमा राजेन्द्रकुमार राई, फूलकुमारी माझी, एलिना केसी, अनिताकुमारी साह, रमा बस्नेत, निर्मला कार्की
रहेका छन् ।
