धरान । धरानको सुरक्षाको अवस्था विगत केही दिन यता भयावह बन्दै गएको छ । व्यवसायीको असफल अपहरण प्रयास, पसल तोडफोड गरी माल समान नगद चोरी गर्ने लगायतका घट्नाले व्यवसायी आतंकित बन्दै गएका छन् । आइतबारमात्र धरान वडा नं. २ रत्नरोडका सुनचाँदी व्यवसायी टिकाराज मास्के अपहरणकारीबाट बाल बाल जोगिएका छन् । मास्के ज्वेलर्स सञ्चालन गर्दै आएका समाजसेवी समेत रहेका मास्केलाई विहान ५ः३० बजे तीन जना अपहरणकारीहरुले असफल अपहरणको प्रयास गरेका थिए ।
शनिवार धारामा पानी नआएको र आइतबार पानी आएपछि पानीका लागि ढोका खोलेर बाहिर निस्कदा भ¥याङमा तीन जना रहेका अपरिचितमध्ये दुई जनाले एक्कासी उनको गर्धनमा धारिला हतियार
राखेका थिए । त्यस क्रममा आत्तिएर चिच्याउँदा परिवारका अन्य सदस्यहरुले हार गुहार मागेका थिए । पछि उनीहरु आफ्नो योजना सफल नहुने देखेपछि बाहिर सडकमा स्ट्याण्डबाई राखेको २ सय सिसीको एनएस मोटर साइकल चढेर भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । अपहरणकारीले पेस्तोल समेत देखाएको मास्केको परिवारिक स्रोतले जनाएको छ । परिवारबाट छुट्टिएपछि विगत केही बर्षदेखि मास्केले आफ्नो छुट्टै व्यवसाय सञ्चालन गर्दै आउनु भएको थियो । यस अगाडि पनि उहाँको पसल अगाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको थियो । केही दिन अगाडि धरान ९ पुतली लाइन, धरान १६ मा समेत पसलको सटर फुटाएर सामान नगद चोरी भएको थियो ।
