भारतबाट आएको हात्ती मृत फेला

धरान । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ मा शुक्रबार एक बयस्क हात्ती मृत फेला परेको छ ।
कौशीकी सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत हात्ती गन्हाउन थालेको अवस्थामा भेटिएको शव डिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिनुभयो ।
रेन्जर भण्डारीका अनुसार हात्ती केही दिन अगाडि नै मरेको हुनुपर्छ । मृतक हात्तीको दुईवटै दाह«ा यथावत रहेको, कानमा तीनवटा प्वाल र ट्याग समेत रहेकोले हात्ती काल गतिले नै मरेको हुनसक्ने भण्डारीले बताउनुभयो ।
कोशी वन्यजन्तु आरक्षणका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार मृतक हात्ती वन्यजन्तु आरक्षणको नभएको बताउनुभयो । झापाको वाहुनडाँगी नाका भएर आएको हुनसक्ने यादवको कथन छ । यद्यपि हाल आरक्षणको विज्ञ टोलीले अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो । विगत केही समयदेखि कौशिकी सामुदायिक वनमा २२ वटा हात्तीहरु घुमिरहेका छन् । ती जंगली हात्तीका कारण स्थानीय बासिन्दाहरुको दैनिकी जोखिमपूर्ण बनेको छ । जंगली हात्तीहरुले स्थानीयको घरमा पसेर घर भत्काइदिने, अन्नबाली नाश गरिदिने गरेको स्थानीय जगत कार्कीले बताउनुभयो । मृतक हात्तीको स्थानीयको रोहवरमा शव डिभिजन वन कार्यालय, कोशी वन्य जन्तु आरक्षण केन्द्रले मुचुल्का गरेको थियो । मृतक हात्तीको आरुक्षण केन्द्रका विज्ञले पोष्टमार्टम समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया