धरान । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रिम प्रोजेक्टको रुपमा रहेको झापाको दमकमा बन्दै गरेको नेपालकै सबैभन्दा अग्लो ‘दमक भ्यु टावर’ आगामी आषाढभित्रमा पूरा हुने भएको छ । चिनियाँ कम्पनी जेडसिजी आइस्सी, नेपालको ओम साइराम कस्ट्रक्सन र आशिष कस्ट्रक्सनको ज्वाइन भेन्चरमा २०७६ सालदेखि दमक भ्यु टावर निर्माण थालिएको थियो । कुल १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १७६ रुपैयाँको लागतमा बन्दै गरेको भ्यु टावर १ सय मिटर अग्लो हुनेछ । जसमध्ये १८ तला कंक्रिटको ढलान रहने छ भने २८ मिटर स्टिलको आकर्षक फ्रेम रहने छ ।

भ्यु टावर निर्माण प्रोजेक्टका म्यानेजर सल्जर बिडारीका अनुसार भ्यु टावर आगामी आषाढ भित्रमा पूरा गर्ने लक्ष्यका साथ तिब्र गतिमा काम भइरहेको छ । एउटा प्रधानमन्त्रीले शुरु गरेको काम अर्को प्रधानमन्त्री आउँदा काममा आर्थिक अभाव त छैन भन्ने प्रश्नमा उहाँले भन्नुभयो, अहिलेसम्म निर्माणमा आर्थिक अभाव झेल्नु परेको छैन । आशा छ निर्माण सम्पन्न हुँदासम्म त्यस्तो परिस्थिति आउने छैन । भ्युटावर निर्माण सम्पन्न भएपछि पूर्वाञ्चलकै पर्यटन व्यवसायमा व्यवसायीले राहत महसुस गर्ने छन् विडारीले भन्नुभयो । उहाँका अनुसार भ्यु टावरको वेशमेन्टमा ४० वटा चारपाँग्रे साना सवारी साधन, २ सय वटा मोटर साइकल पार्किङ गर्न सकिन्छ । वेशमेन्ट पार्किङ प्रयोजनकै लागि मात्र प्रयोग हुन्छ । यसका अलावा ग्राउण्ड फ्लोरदेखि माथिका चार तलासम्म रिटेल पसलहरु रहने छन् । यसैगरि ५ र ६ तलामा कर्पाेरेट ब्लक रहनेछन् । ८ र ९ तलामा आर्ट ग्यालरी, म्युजियम रहने छन् । यस्तै १०,११,१२,१३,१४ तलामा होटल रेष्टुरेन्ट, १५, १६,१७ तला भ्यु हेर्नका लागि प्रयोग हुनेछन् ।
पाँच विगाह क्षेत्रफलमा फैलिएको भ्यु टावरले ७ कट्ठा क्षेत्रफल ओगटेको छ । प्राविधिक शिवशंकर यादवका अनुसार हाल काम जोडतोडले भइरहेको छ । १८ तला माथि स्थिल फ्रेस लगाउने, ४ वटा लिफ्ट जडान गर्ने जस्ता काम भइरहेको यादवले बताउनुभयो ।
