तीनवटा परियोजनामा हस्ताक्षर

धरान । भारत सरकारको सहयोगमा निर्माण हुने तीनवटा परियोजनामा सोमबार हस्ताक्षर भएको छ । नेपालस्थित भारतीय राजदुतावासद्वारा जारी विज्ञप्ती अनुसार भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य सेवा र खानेपानी सम्बन्धी तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अगाडि बढाउन भारतीय राजदुतावास र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।


तीनवटा परियोजनाको कूल अनुमानित लागत १० करोड १७ लाख रहेको र ती परियोजना उदयपुर जिल्लाको बेलका माध्यामिक विद्यालय भवन निर्माण, सोलुखुम्बु जिल्लाको न्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्र निर्माण र धादिङ्ग जिल्लाको लिस्ने खोला टिकासुङ्ग दाङचेत झर्लाङ्ग खानेपानी परियोजना निर्माण हुने भएका छन् । उल्लेखित परियोजनाहरु निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य र खानेपानी सहज प्राप्त गर्ने विश्वास गरिएको छ । सन् २००३ यता भारतले नेपालमा ५ सय ३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाएकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टीभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातवटै प्रदेशमा ४ सय ७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

तपाईको प्रतिक्रिया