धरान । निर्वाचन अगाडि मनोनित भएका नेपाली काँग्रेस सुनसरीका सदस्य र विभागीय प्रमुखहरु सबै चैट्ट भएका छन् ।
नेपाली काँग्रेस सुनसरीको आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले मनोनित जिल्ला सदस्य र विभागीय प्रमुखहरुलाई विदा गरेको छ । निर्वाचन अगाडि सदस्य र विभागीय प्रमुख मनोनित पत्रले खैलाबैला मच्चाएको थियो । पार्टीमा कुनै योगदान नभएका, निस्कृय, गंजडी, जग्गा दलालहरुका घरमा जिल्ला कार्यसमितिमा मनोनित गरिएको व्यहोरा सहितको पत्र पश्चात बर्षौदेखि इमान्दारिताका साथ काम गर्दै आएका कार्यकर्ताहरुलाई निराश बनाएको थियो । कतिपयले जिल्ला नेतृत्वको कडा आलोचना गर्दे तत्काल राजीनामा ठोकेका थिए । पार्टीलाई चलायनमान बनाउने बहानामा पार्टी सभापति केदार भण्डारीले विधान विपरीत मनोनयन गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । तर आइतबारको बैठकपश्चात एक विज्ञप्ती प्रकाशित गरी भण्डारीले पार्टीको विधान २०१७ (संसोधन र परिमार्जित २०७५ परिच्छेद ३ को धारा १२(५) ख र १ र ७ (ज) ले दिएको अधिकार बमोजिम मनोनित जिल्ला सदस्य र विभागीय प्रमुख वा संयोजक आजकै मितिबाट विघटन गरिएको जनाएका छन् । विज्ञप्तीमा मनोनित साथीहरुले नेपाली काँग्रेसको आदर्श, सिद्धान्त, मूल्य, मान्यता तथा विधान, नीति र निर्णयको अधिनमा रही आफ्नो कार्य कुशलतापूर्वक सम्पादन गर्नुभएकोमा सबैप्रति
भण्डारीले धन्यवाद समेत दिएका छन् ।
