समानुपातिक प्रणाली दलाली प्रवृत्तिको पराकाष्ठा

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष– मानुपातिकतर्फको पूर्ण नतिजा आइसकेको छ । दलहरुले प्रत्यक्षतर्फको उमेद्वारी चयनमा करोडौ मूल्यमा व्यापारी, उद्योगी, माफियाहरुलाई टिकट बेचेको आरोप इमान्दार कार्यकर्ताले लगाएको चर्चा सेलाउन नपाउँदै समानुपातिकतर्फबाट पनि सोही प्रवृत्ति नेतृत्वले पुनरावृत्ति गरेका छन् ।
दलहरुले निर्वाचन आयोगमा पेश गरेको बन्द सूचिमा क्रमश ः उल्लेख गरिएका नाम भन्दा फरक व्यक्तिलाई निर्वाचन आयोगले मतको आधारमा छुट्याइएको नाम भएकाहरु संसद प्रवेश गर्न पाउने भएका छन् । मुलुकको सबैभन्दा पुरानो र ठूलो दलको रुपमा नेपाली काँग्रेस अन्य दलका निम्ति उदाहरणीय र नैतिकवान हुनुपर्नेमा त्यसो हुन नसक्नु प्रजातान्त्रिक मूल्य र मान्यता विपरीतको कार्य हो । नेपाली काँग्रेसले समानुपातिक सूचिमा क्रमिक रुपमा नाम रहेकाहरुलाई मनोनयन गर्न नसकी स्खलित चरित्र देखाएको छ । काँग्रेसका नेताहरुको नजिक रहेका, सांसद हुनकै लागि आर्थिक र शारीरिक त्याग गर्न सक्नेहरु यसपटक प्रतिनिधिसभा र प्रदेशसभाको सांसद भएका छन् । आर्थिक र शारीरिक त्याग गर्न सक्नेहरु यही प्रयोजनका लागि ठूलै सँख्यामा नेपाली काँग्रेस र अन्य दलहरुबाट काठमाण्डौ पुगेका थिए । उनीहरु विभिन्न सम्पर्क सुत्रहरु मार्फत नेतृत्वको निकटको भनसुनमा ब्यस्त भएका थिए । अधिकांशले यही माध्यमबाट प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकमा पर्न सफल भएका छन् । समानुपातिक बन्दसूचि चाहे त्यो प्रतिनिधिसभाका लागि होस् चाहे प्रदेशसभा (?) का लागि होस् नेतृत्वको आर्थिक उपार्जन र आफ्ना मानिस भर्ति केन्द्र भन्दाबाहेक अरु केही हुन नसकेको तीतो यथार्थ हो । पिछडा क्षेत्रबाट नेपाली काँग्रेसका सभापति, प्रधानमन्त्रीकै श्रीमतिलाई मनोनयन गर्नु जस्तो लज्जास्पद काम अरु केही हुन सक्दैन । एक त उनी पिछडा क्षेत्रकी महिला पनि होइनन् । सम्भ्रान्त परिवारकी काठमाण्डौकी रैथाने, खरबौ सम्पत्तिकी मालिक । कसरी पिछडा क्षेत्रकी भन्ने ? रहयो बाँकी नेपाली काँग्रेसमा उनको योगदान । उनले नेपाली काँग्रेसमा के योगदान दिएकी थिइन् ? उनको मनोनयन सिर्फ शेरबहादुर देउवाकी अर्धाङ्गिनी भएको नाताले मात्र भएको हो भन्दा अतियुक्ति हुँदैन । अर्कोतर्फ निर्वाचन हारेर पनि निर्लज्जतापूर्वक गृहमन्त्रीको कुर्सीमा बसेर अल्पकालीन र दीर्घकालीन निर्णय गर्दै आएका बालकृष्ण खाँडकी श्रीमतिलाई समेत समानुपातिकबाट सांसद भिœयाइएको छ । यो भन्दा बिडम्बना अरु के हुन सक्छ ? के समानुपातिक सिट नेताका आफन्तलाई बाँड्ने पद हो ? सविधानले स्पष्ट निर्देश गरेको छ, समाजमा योगदान गरेका सामाजिक व्यक्तित्व, प्राज्ञिक व्यक्तित्व, पिछडिएका, आदिवासी, दलित, अल्पसंख्यक आदिको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि हो । जसले वास्तविक आवाज संसदमा उठाउन सकोस् । तर यसो हुन सकेन । नेपाली काँग्रेसमा मात्र नभएर अन्य दलहरु एमाले, माओवादी केन्द्र, भर्खरै जन्मिएको रास्वपा, जसपा, जनमत पार्टी सबैमा यही प्रवृत्ति देखिएको छ ।

तपाईको प्रतिक्रिया