सीपमूलक तालिम आवश्यक

विराटनगर÷ लैंगिक हिंसामा परेकाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।


विराटनगर महानगरपालिकाको सहकार्यमा एवीसी नेपालले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एवीसीले प्रभावितहरुलाई जीवन उपयोगी तालिम दिएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर अन्तरक्रिया गरेको थियो । महानगरका कार्यबाहक मेयर प्रकाश साहले हिंसा प्रभावितहरुको जीविकोपार्जनका लागि प्रभावकारी तालिम दिनुपर्ने बताउनुभयो । सीपमूलक तालिम लिएर पनि हिंसा प्रभावितहरुले आयआर्जन गर्न नसकेको उहाँको भनाइ थियो । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसीकी अध्यक्ष विष्णु शर्मा पन्तले १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्यक्ष ५ जनामध्ये १ जनामाथि हिंसा हुने गरेको सुनाउनुभयो । उहाँका अनुसार एवीसीले सञ्चालन गरेको सेफ हाउसबाट २३ जनाले सेवा लिइरहेका छन् । एवीसी नेपालले विराटनगरसहित ओखलढुंगा र उदयपुरका विभिन्न पालिकामा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया