धरान । व्यवसायीहरुले लिएको ऋणमा बैकले ब्याज बढाएको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले आन्दोलनको कार्यक्रमै सार्वजनिक गरेर आन्दोलनमा उत्रिएका हुन् ।
उद्योगी, व्यवसायीहरुको छाता सगठन सुनसरी उद्योग वाणिज्य संघको नेतृत्वमा व्यसायीहरुले बैंकहरुले बढाएको व्याजदरको विरुद्धमा आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलन अन्तर्गत मंगलबार संघले धरानमा रहेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकमै पुगेर ऋण लिएको रकमको व्याज नबढाई साविककै बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बैंकको व्याजदरका कारण व्यवसायीहरुले व्यवसायबाट हात धुनुपर्ने अवस्था आएकोले अन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै आजबाट आन्दोलन शुरु गरेको बताउनुभयो । उहाँले आन्दोलनको कार्यक्रम अन्तर्गत पहिलो दिन धरानका सबै बैंकमा ज्ञापनपत्र बुझाउने, बुधबार विराटनगरस्थित राष्ट्रबैंकको कार्यालयमा र २८ गते राष्ट्रबैंकको केन्द्रीय कार्यालयमा पुगेर धर्ना एवम् ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो । यता ज्ञापनपत्र बुझ्ने बैंकका प्रमुखहरुले भने बैंकको केन्द्रीय नीति अनुरुप ब्याज बढेको बताउदै व्यवसायीहरुले बुझाएको ज्ञापनपत्रको विषयमा केन्द्रलाई जानकारी गराउने बताएका छन् । नेपाल बैंक लिमिटेड धरान शाखा प्रमुख प्रवेश अधिकारीले अहिलेको परिस्थिति अनुसार ब्याजदर बढेकाले यसको निर्णय गर्ने अधिकार राष्ट्रबैंकसँग रहेको बताउनुभयो ।
यता बैंकर्स क्लब धरानमा अध्यक्ष तोर्णबहादुर कार्कीले समय सापेक्ष राष्ट्रबैंकले बैंकको ब्याजदर बढाएको बताउनु भएको उहाँले विगतमा बैंकमा ८ प्रतिशत लौनमा ४ प्रतिशत प्रिमियम थपिएर १२ प्रतिशत रहेको बताउदै अहिल समय सापेक्ष बैंकको ऋणको व्याजदर बढेको भएपनि प्रिमियम भने उही रहेको बताउनुभयो । धरानमा कमर्सियल, विकास बैंक गरी ३४ वटा बैंक रहेका छन् । त्यसमा पनि ‘क’ वर्गका २४, ‘ख’ वर्गका ८ र ‘ग’ वर्गका २ वटा बैंक रहेको वैंकर्स क्लबका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । व्यवसायीलाई मार परेको जाजय भएपनि यो समस्या राष्ट्र बैंकले मात्र समाधान गर्न सक्ने कुरा व्यवसायीहरुले ज्ञापनपत्र बुझाउने क्रममा बैंकहरुले जनाएका थिए ।
