राजधानी । नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले हिजो मंगलबार काठमाण्डौमा आयाजित एक विशेष समारोहबीच अर्थमन्त्री जनार्जन शर्मालाई भारत सरकारको तर्फबाट २ सय वटा सवारी साधन उपहारस्वरुप प्रदान गर्नुभएको छ । नेपालमा विगतमा भएका निर्वाचनमा समेत भारत सरकारले सवारी साधन लगायत अन्य आवश्यकीय सहयोग प्रदान गर्दे आएको थियो । उपहारस्वरुप प्रदान गरिएका सवारी साधनहरुले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक तयारी गर्न सघाउ पुग्ने भएको छ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका ती सवारी साधन चुनाव प्रयोजनका लागि प्रयोग गरिने भएको छ । प्राप्त सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायका लागि र ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने भएका छन् । यी सवारी साधनको हस्तान्तरणले नेपालमा रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुग्ने भएको छ । अर्थमन्त्री शर्माले सवारी साधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनुभयो । नेपाल सरकारको अनुरोधमा विगतका बर्षहरुमा पनि भारतले सहयोग पु¥याउँदै आएको उहाँले स्मरण गर्नुभयो । भारत सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई झण्डै २ हजार र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म नेपाललाई निर्वाचनको समयमा २ हजार ४ सय सवारी साधन उपहार स्वरुप प्रदान गरिसकेको छ ।
