दलाल प्रवृत्तिले दल पनि रहदैन, देश पनि रहदैन

प्रदीपकुमार चौधरी । नेपाली काँग्रेस सुनसरीका आम कार्यकर्ताका लागि प्रदीप चौधरी सुपरिचित नाम हो ।  सुनसरीका आम काँग्रेसका कार्यकर्ताहरुले चौधरीलाई काँग्रेसभित्रका एक इमान्दार, सबल, लामो योगदानबाट स्थापित नेताको रुपमा चिन्ने गर्छन् ।


हुन पनि चौधरीले नेपाली काँग्रेसमा चालीस बर्ष योगदान दिनु भएको छ । वि.सं. २०३६ सालदेखि निरन्तर नेपाली काँग्रेसको संगठन विस्तार, पार्टीका हरेक गतिविधिमा समर्पित
रहँदै आउनु भएको छ । चाहे २०४२ सालको सत्याग्रह होस्, चाहे २०४६ को जन आन्दोलन होस्, चाहे २०६२÷०६३ को आन्दोलन होस् उहाँको सुनसरीमा सदैव अग्रणी भूमिका रहँदै आएको कुरा कसैले नकार्न सक्दैन । उहाँले ४० बर्षसम्म पार्टीमा सांगठनिक जिम्मेवारी सम्हाल्नु भयो तर लाभको पदबाट उहाँलाई सदैव बञ्चित गरियो ।
२०४६ सालको जन आन्दोलन पश्चात हालको दुहवी नगरपालिका तत्कालीन आदर्श गाउँ विकास समितिको सभापतिको जिम्मेवारी नेतृत्वले उहाँलाई सुम्पियो । सांगठनिक कुशलताकै कारण उहाँ क्षेत्रीय सचिव, दुईपटक क्षेत्रीय सभापति, विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमको जिल्ला सभापति, पुन ः नेपाली काँग्रेसमा समाहित भएपछि जिल्ला उपसभापतिको जिम्मेवारी चौधरीले कुशलतापूर्वक निर्वाह गर्नुभयो । सबैभन्दा ठूलो कुरा त विजय गच्छदारका लागि उहाँले सबैभन्दा ठूलो योगदान दिनुभएको् थियो । हरेक विगतका निर्वाचनमा उहाँले गच्छदारको चुनावी मोर्चा सम्हाल्नु भएको थियो । विजय गच्छदार विगतका निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा एक हप्ता १० दिन मात्र आएर बस्ने गर्नुहुन्थ्यो तर निर्वाचन जित्नु हुन्थ्यो । यसको प्रमुख कारण प्रदीपकुमार चौधरी नै हुनुहुन्थ्यो । त्यस क्षेत्रका आम मतदाताले भन्ने गर्थे प्रदीपकुमार चौधरी नभए गच्छदारले चुनाव जित्न सम्भवै थिएन । अर्थात प्रदीपकुमार चौधरी गच्छदारका दाहिने हात थिए । तर गच्छदारले आजसम्म प्रदीपकुमार चौधरीलाई कुनै लाभको पदमा अवसर दिनुभएन । चौधरीको योगदानको मूल्यांकन गरिदिएको भए विगतका निर्वाचनहरुमा उहाँले अवसर पाउनु पर्ने थियो । चौधरी भन्नुहुन्छ, योगदानको मूल्यांकन गरिदिएको भए अवसरको पहिलो भागिदार मनै थिएँ । तर गच्छदारले परिवारबाहेक अरु हेर्नुभएन । २०७९ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं. २ को ‘ख’ बाट राजीव कोइराला र प्रदेश ३ को ‘ख’ बाट प्रदेशसभामा प्रदीपकुमार चौधरीको उमेद्वारी वाल्वाटारमा निर्णय भएको थियो । असोज २२ गते नोमिनेशनको दिन अपरान्ह ४ बजेसम्म चौधरीलाई उमेद्वारी बनाउने निर्णय भएको थियो । काठमाण्डौबाट तपाई अगाडि बढ्नुस्, आफ्नो तरिकाले व्यवस्था गर्नुस् भन्ने सन्देश आयो । आफ्नो नाममा टिकट निश्चित भएपछि उहाँलाई बधाई दिनेको ओइरो लाग्यो । तर उक्त बधाईको क्षण लामो रहेन । डरलाग्दो पैसाको चलखेल  भयो । उहाँको नाममा निर्णय भएको टिकट अरुलाई दिइयो । चौधरी भन्नुहुन्छ, मैले पार्टीमा त्यत्रो योगदान गरें । आफ्नो नाममा निर्णय भइसकेको टिकट अन्तिम समयमा लेनदेनको आधारमा अरुलाई दिएपछि मैले घोर असहमति जनाएँ । साथीहरु र यस क्षेत्रका आम मतदाताको आग्रहमा मैले विद्रोह गर्ने निर्णय गरें । पार्टीभित्रको घिनलाग्दो प्रवृत्ति, टिकट किनबेचको प्रथालाई निर्मुल पार्नका लागि आफूले उमेद्वारी दिएको चौधरीको कथन छ । उहाँ भन्नुहुन्छ मेरो योगदानको नेतृत्वले सही मूल्याकन नगरेपछि आगामी मंसिर ४ गते यहाँका जनता, मतदाताहरुले मूल्यांकन गर्नुहुनेछ । स्पष्ट वक्ता, अत्यन्तै सरल सुनसरी क्षेत्र नं. ३ प्रदेसभा ‘ख’ का स्वतन्त्र उमेद्वार प्रदीपकुमार चौधरीसँग यसपटक हामीले उहाँलाई काँग्रेसले सही मूल्यांकन किन नगरेको ? लगायत निर्वाचन केन्द्रित भएर वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः–

तपाईले नेपाली काँग्रेसमा ४० बर्ष निरन्तर योगदान दिनुभयो । अझ सुनसरी क्षेत्र नं. ३ का सांसद विजय गच्छदारको तपाईलाई दह«ो खम्बाको रुपमा यहाँका स्थानीय मतदाताहरुले हेर्ने र बुझ्ने गरेका थिए । तर तपाईलाई जहिल्यै पनि पाखा लगाउनुको प्रमुख कारण के होला त ? तपाईलाई के लाग्छ ?
–मैले पनि त्यही कुरा बुझ्न सकिरहेको छैन । यदि नेतृत्वको हातबाट कसैले अवसर पाउँछ भने त्यसको पहिलो व्यक्ति म नै हुँ । तर पाइएन । एक पटक पनि पाइएन । आश्वासन मात्र पाएँ । मलाई सबैले प्रदीप चौधरी भनेको विजय गच्छदार, विजय गच्छदार भनेको प्रदीप चौधरी हो भन्थे । त्यस्तै थियो पनि र हो पनि । तर सधा मलाई बञ्चित गरियो । उहाँ  परिवारवादबाट माथि उठ्न सक्नु भएन । उहाँले पटक पटक भन्नुभएको थियो मेरो परिवार बिग्रिरहेको छ, म कसरी परिवार बिग्रेको हेर्न सक्छु । त्यहाँ मलाई शंका लागेको थियो । आफ्नो परिवार सुरक्षित गर्न नै मलाई अवसरबाट बञ्चित गर्नुभएको होला ।
तपाईले हाल नेपाली काँग्रेसबाट विद्रोह गरेर उमेद्वारी दिनुभएको छ । तपाईले हिजो गरेका योगदानबाट यस क्षेत्रका मात्र नभएर सुनसरी जिल्लाका आम कार्यकर्ता अनविज्ञ छैनन् । तपाईको उमेद्वारीलाई लिएर यस क्षेत्रका मतदाताहरुको तपाईप्रतिको भावना कस्तो पाउनु भएको छ ?
–यस क्षेत्रका आम मतदाताले मप्रति अत्यन्तै ठूलो सहानुभूति राख्नु भएको छ । हरेक मतदातालाई मेरो बारेमा जानकारी छ । प्रदीप चौधरीले यत्रो योगदान गरेको छ तर पटक पटक अवसरबाट बञ्चित गरेर अन्याय गरेको भन्नुहुन्छ । विजय गच्छदारसँग ४० बर्ष सम्म निरन्तर खट्नुभयो, दाहिने हात भएर बस्नुभयो, विजय गच्छदारको यो क्षेत्र र जिल्लाभरि गच्छदारको प्रतिनिधि भएर काम गर्नुभयो भन्नुहुन्छ । यहाँका हरेक मतदातालाई थाहा छ प्रदीप चौधरीका बारेमा । सबैले अहिले प्रश्न गरिरहेका छन् यस क्षेत्रका आम काँग्रेसका कार्यकर्ता, मतदातामा एउटा आक्रोस छ, प्रदीप चौधरीले टिकट पाउनु पथ्र्यो । किन दिइएन ? एक महिनादेखि यस क्षेत्रमा प्रदीप चौधरीले नै टिकट पाउनुहुन्छ भन्नेमा सबै ढुक्क थिए । निर्णय पनि भयो तर नोमिनेशनका दिन अरुलाई किन दिइयो भनेर प्रश्न गरिरहेका छन् । प्रदीप चौधरीको सही मूल्याकन भएन, नेतृत्वले अन्तिम समयमा प्रदीप चौधरीको नाम हँटाएर किन अरुलाई दिइयो भनेर जनता आक्रोसित छन् ।
तपाईका आगामी एजेण्डाहरुचाहिँ के के हुन्छन् ? तपाई विद्रोह गरेर काँग्रेसबाट मैदानमा उत्रिनु भएको छ ।
–त्यो त अहिले सबै भन्ने कुरा आउँदैन । तर मुख्य एजेण्डा भनेको पार्टीभित्र जुन विकृति छ किनबेचको विकृति जुन विकास भइरहेको छ म त्यसको भण्डाफोर गर्छु । मेरो यो मुख्य एजेन्डा हुन्छ । यसका अलावा अरु पनि धेरै हुन्छन् । अहिले प्रचारप्रसार गर्न बाँकी नै छ ।
जस्तै ?
–पार्टीभित्र भएको गुटबन्दी, टिकट किनबेचको विकृति, परिवारवाद, विकृतिहरु हुन्छन् ।
पार्टीले वा नेतृत्वले तपाईजस्ता बोनाफाइड कार्यकर्तालाई व्यवस्थापन गर्न नचाहेकै हो त ?
–मलाई त्यस्तै लागेको छ । नेतृत्वले चाहेको भए मेरो शुरुमै व्यवस्थापन हुन्थ्यो । यसको पहिलो हकदार म नै थिएँ । तर नेतृत्वले गर्न चाहेन ।
ध्यसभन्दा अगाडि अगमलाल चौधरीलाई दिइयो, दुहवी नगरपालिकामा आफ्नै भाईलाई दोहो¥याएर मेयर दिइयो, । त्यो ठाउँमा तपाईलाई पहिला पनि व्यवस्थापन गर्न सकिन्थ्यो । तपाईलाई गरिएन । अब विजय गच्छदारको लागि यस पटकको निर्वाचन अन्तिम पनि हुन सक्छ । उमेरले पनि उहाँलाई दिँदैन । यो अन्तिम पटक आएर तपाई जस्ता कार्यकर्ताको व्यवस्थापन गर्दा उहाँलाई के आपत्ति हुन्थ्यो ?
–यसमा कुनै आपत्ति थिएन । आपत्ति भए मेरो नाममा अन्तिम सम्म टिकट कन्फर्म हुने थिएन । उहाँहरु वाल्वाटारमा बसेर निर्णय गर्ने अनि अन्तिममा पार्टीमा कुनै योगदान नै नभएको व्यक्तिलाई टिकट दिनुको  रहस्य पक्कै छ । पहिला हकदार हरेक दृष्टिले म नै थिएँ । २०७४ सालको निर्वाचनमा पनि मैले टिकट पाउनु पथ्र्यो । विजय गच्छदारपछिको सिनियर पार्टीमा यो क्षेत्रमा मै थिएँ । २०७९ मा पनि पाउनु पथ्र्यो तर भएन । सबैले मेरो नाममा जिल्लाका नेताहरुले सहमति पनि गरेका थिए । नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारी, प्रदेश सांसद राजीव कोइराला, संघीय सांसद सीताराम मेहता, सञ्जय श्रेष्ठ लगायतका नेता र विजय गच्छदारबीचमा तीन चार पटक बैठक बस्यो । विराटनगर बैठक बस्दा प्रदीप दाईलाई यसपटक जसरी पनि टिकट दिनुपर्छ, उहाँले टिकट पाउनुपर्छ भन्ने सहमति भएको थियो । प्रदीप चौधरीले अहिलेसम्म अवसर पाउनु भएन, उहाँ भन्दा जुनियर, पार्टीमा कुनै योगदान नै नभएकाहरुले अवसर पाएँ । अब प्रदीप चौधरीलाई बञ्चित गर्नु हुँदैन भनेर भदौमा सहमति भएको थियो । त्यसपछि  मेरो पक्षमा वातावरण बन्यो, टिकट पनि कन्फर्म भयो तर अन्तिम अवस्थामा अर्कैको नाममा दिइयो ।
नेपाली काँग्रेस यतिबेला सुनसरीमा मात्र हैन अन्यत्र पनि असाध्यै कमजोर देखिएको छ । पाँच दलीय गठबन्धन हामी स्ट्रोङ छौ भन्दैछन् तर मतदाताहरु सत्ता गठबन्धनप्रति आक्रोसित छन्, वितृष्णा देखिएका छन्, यसको कारण के हुनसक्छ ?
–नेताहरुको गलत क्रियाकलापका कारणले हो । यो सत्ता गठबन्धन जुन पाँच दलको छ त्यो मुलुक बनाउन नभएर मिलीजुली सत्तामा बस्ने, लुट्ने प्रयोजनकै लागि बनेको हो । गठबन्धन नहुँदा काँग्रेस बलियो थियो तर गठबन्धन भएपनि कमजोर भएको छ । अझ पछिल्लो पटक आफ्नो प्रभाव क्षेत्रमा हैसियत नएका दललाई जिम्मा दिनु, भएका ठाउँमा वा भागबण्डा भएका क्षेत्रमा पनि टिकट विक्री गर्नु नै कमजोर हुनुको मुख्य कारण हो । पछिल्लो पटक पार्टीमा पैसा भएकोले अवसर पाएका छन् ।
त्यसो भए पार्टीमा लगानी किन गर्ने ? तपाईले पार्टीमा ४० बर्ष योगदान दिनुभन्दा ४० बर्ष पैसा कमाएर अहिले टिकट किनेको भएपनि त हुन्थ्यो नि हैन र ?
–मैले त्यही गल्ति गरेँजस्तो लाग्छ । हुन त नेपाली काँग्रेसमा म जस्ता गल्ति गर्ने हजारौ हुनुहुन्छ । आज मुलुकभरि काँग्रेसबाट विद्रोह गर्नुको प्रमुख कारण कार्यकर्ताको लगानीको मूल्यांकन गर्नुको सट्टा नेतृत्वले टिकट विक्री गरेरपैसावाललाई प्राथमिकता दिएकैले हो । मैले यत्रो ४० बर्ष सम्म लगानी गरेँ ? प्रदीप चौधरीको पार्टीमा लगानी सुनसरी क्षेत्र नं. ३ मामात्र नभएर जिल्लाका सम्पूर्ण साथीहरुलाई थाहा छ । कत्रो लगानी छ, पार्टीलाई सुदृढ गर्न के के ग¥यो प्रदीप चौधरीले सबैलाई थाहा छ । तर पनि मूल्याकन भएन । लगानी गर्नेको मूल्यांकन पार्टीले, नेताले गर्न नसक्दा आज काँग्रेसको दुरावस्था भएको छ । यहाँ पैसावालाको बोलवाला छ यो इमान्दार पार्टीका कार्यकर्ताहरुका लागि दुर्भाग्य हो ।
सुनसरीको समग्र स्थितिलाई तपाई जस्तो पुरानो कार्यकर्ताले कसरी मूल्यांकन गर्नुभएको छ ?
–मैले भन्नुपर्दा स्थिति राम्रो छैन काँग्रेसको । म हिजो नेतृत्व तहमै थिएँ । हिजो लोकतान्त्रिक फोरमको पनि १० बर्ष पार्टी सभापति चलाएकै हुँ । काँग्रेसले आगामी निर्वाचनमा जितोस् मेरो शुभकामना छ । म पनि काँग्रेस नै हुँ । म काँग्रेसको बागी हुँ । चित्त नबुझ्दा विद्रोह गर्न पाइन्छ । नेताको निर्णयलाई असहमति जनाउन पाइन्छ । गर्नु पनि पर्छ । गलत गर्दा टुलुटुलु हेरेर बस्नु हुँदैन । यसो नगरेमा पार्टीका नेताहरु तानाशाह हुन्छन् ।  यसैकारणले पनि नेतृत्वको गलत निर्णयको विरोध गर्नुपर्छ । यहाँ व्यवस्था परिवर्तनमा त विद्रोह भएको छ भने नेतृत्वको गलत निर्णयको विद्रोह गर्नुपर्छ । बीपीले पनि नेतृत्वको गलत निर्णयको विरोध गर्नुपर्छ, विद्रोह गर्न नसक्ने या त दाश हुन या त अवसरवादी हुन् भन्नु भएको छ ।
त्यसो भए तपाईको उमेद्वारी काँग्रेस नेतृत्वको गलत निर्णको विरुद्धमा हो ?
–हो । सत्य हो । नेताहरुको गलत निर्णय, गलत क्रियाकलापका विरुद्धमा हो ।
तपाईलाई के लाग्छ नेपाली काँग्रेसमा नेताहरुको आचरण आगामी निर्वाचन पछि सुध्रिएला ?
–म कामना गर्छु काँग्रेसका नेताहरुमा सद्बुद्धि आओस्, सुध्रिउन ।
आफ्ना क्षेत्रका मतदाताहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
–पार्टीभित्र टिकट लिँदा जुन किनबेचको प्रवृत्ति छ त्यसका विरुद्धमा, सही नेतृत्वले आफ्नो ठाउँमा नेतृत्व सम्हाल्न पाओस्, योगदानको मूल्यांकन होस् भनेर मैले उमेद्वारी दिएको हुँ । जबसम्म यो प्रवृत्ति यथावत रहन्छ तबसम्म आम युवाहरु जो पार्टीमा लाग्नु भएको छ उहाँहरुले अवसर पाउनु हुन्न । कित उहाँहरुले करोडौ कमाएर नेतृत्वसँग टिकट खरिद गर्नुपर्छ । आउने जेनेरेशनलाई सहज होस् भनेर मैले विद्रोह गरेको हुँ । गुण्डागर्दी र पैसाले मात्र अवसर पाउने हो भने युवाहरुले कुनै अवसर पाउँदैनन् ।
तपाईको उमेद्वारी एकै शब्दमा भन्ने हो भने दलाल प्रवृत्तिका विरुद्धमा हो ?
–निश्चय नै हो । दलाल प्रवृत्तिले दल पनि रहँदैन, देश पनि रहँदैन ।

तपाईको प्रतिक्रिया