धरान÷ यस बर्षको छठ पर्वले मधेश र पहाडेबीचको दूरीलाई घटाउदै आपसी भाइचाराको सम्बन्ध विस्तार गरेको छ ।
धरानमा भएको छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिइसकेपछि छठ पर्व विधिवत रुपमा समाप्त हुन्छ ।
धरानमा मनाइएको छठ पर्वमा को तराईबासी को पहाडबासी केही छुटिदैनथ्यो । धरानको सेउती र सर्दु खोलाका किनारमा छठ पर्व मनाउन गएका सर्वसाधारण चाहे त्यो आदिवासी जनजाति होस् या आर्य जातिका हुन् चाहे मधेशी समुदायका जाति समुदाय हुन सबै एक आपसमा मिलेर छठ मनाएको दृश्य देख्दा नेपालमा कहिल्यै पनि सामाजिक सद्भाव नखल्बिएको बरु अरु मजबुत बन्दै गएको आभाष प्रष्ट देखिन्थ्यो ।

धरान १५ कि सविता लिम्बु राति नै छठ पर्व मनाउन आफ्ना पारिवारका साथ सेउती खोलामा पुगेकी थिइन् । आइतबार समेत अस्ताउदै गरेको सूर्यलाई पूजा गरेकी उनले सोमबार पनि उदाउँदो सूर्यलाई पूजा गर्न सेउती खोला पुग्ने बताइन् । विगत तीन बर्षदेखि यसरी नै छठ पर्व मनाउदै आएकी लिम्बु अहिले नेपालीहरुले मनाउने चाड सबै समावेशी बन्दै गएको बताइन् । उनले विगतमा मधेशी समुदायले मात्र मनाउदै आएको छठ पर्व पहाडे मुलका सर्वसाधारणले सँगै मनाउन थालेको बताइन् । उनले भनिन्–‘धरानमा समेत समावेशी बन्दै जानुले मधेशी समुदाय र पहाडे समुदायबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन कोशे ढुंगा सावित भएको छ । नेपालमा मनाइने सबै पर्व साझा पर्व बन्दै गएको छ ।’
यस्तै धरान ३ का प्रवीण साहीको सोच समेत मनिकाकै जस्तै रहेको छ । उनी समेत समेत पछिल्लो समयमा पहाडे समुदाय र मधेशी समुदाय मिलेर एकै ठाउमा छठ पर्व मनाउने प्रचलनले मधेशी र पहाडेबीचको सम्बन्धलाई प्रगाढ बनाउनेमात्र हैन विगतमा आफ्नो स्वार्थका लागि केही नेता तथा व्यक्तिहरुले पहाडे र मधेशी समुदायबीच एक आपसमा घोलिदिएका विषवमन समेत अमृतमा परिणत हुने स्पष्ट पारे । उनले भने–‘हरेक नेपालीको जात अनुसार आ आफ्नै परम्परा छ, तामाङ र गुरुङको ल्होसार, हिन्दु महिलाहरुको तीज, राईहरुको साकेला, लिम्बुहरुको चासोक तङ्नाम जस्ता जति पनि चाडपर्व छन्, सबैले उत्तिकै मनाउन थालेका छन्, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ त्यस्तै भनाई धरान १५ का तिलक बस्नेतको भनाई पनि यस्तै छ । उनले समेत विगत तीन चारबर्षदेखि मधेशी समुदाय र पहाडे समुदायका जातजातिबीच एक आपसमा खुशी साटासाट गरेर मनाएको छठ पर्वले नेपालमा आपसी सद्भाव नघटेको गतिलो उदाहरण भएको स्पष्ट पारे । उनले भने–‘साँस्कृतिक पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ, भाइचाराको सम्बन्ध प्रगाढ बनाउँछ ।’ त्यसो त मधेशी समुदाय समेत प्रत्येक बर्ष यसरी सबै समुदायसंग छठ पर्व मनाउदा आफूहरुलाई समेत खुशी लाग्ने बताउदै आएका छन् । धरान ३ पुरानो बजारका राजेश्वर प्रसाद झाले विगतमा मधेशी समुदायले मात्र यसरी खोलामा आएर छठ मनाउदा आफूहरु असुरक्षित बन्ने गरेको बताउदै यसरी सबै समुदाय मिलेर छठ मनाउदा प्रशासनले समेत सुरक्षा संयन्त्रलाई मजबुत बनाएको टिप्पणी गरे । उनले भने–‘पर्वले सबैलाई एकै ठाउँमा बनाउँछ, छठ पर्वमात्र हैन सबै पर्व साझा पर्व बन्नुपर्छ ।’
प्रत्येक बर्ष मनाउदै आएको छठ पर्व पछिल्लो समयमा समावेशी बन्दै गएपछि छठ पर्व व्यवस्थित पार्न सेउती र सर्दु खोलामा छठपूजा भव्ययताका साथ सम्पन्न गर्न समिति नै बन्ने गरेका छन् । छठ पर्वका समयमा सबैले सुरक्षित महसुस गरुन् भन्ने उद्देश्यले गठन गरिएको समितिले त्यहाँको सम्पूर्ण व्यवस्थापन पक्षलाई हेर्ने गरेको छ ।
