सुनसरी क्षेत्र नं. १ मा त्रिपक्षीय भिडन्त

धरान । आगामी मंसिर ४ गते हुने सु्नसरी क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ मा त्रिपक्षीय भिडन्त हुने भएको छ । सुनसरी क्षेत्र नं. १ ‘क’ मा दल र स्वतन्त्रले गरी झण्डै एक दर्जन भन्दा बढीले उमेद्वारी दिएपनि मुख्य प्रतिष्पर्धा भने नेपाली काँग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीकै बीचमा हुने देखिएको छ । सुनसरी क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ मा जम्मा १५ वडा रहेका छन् । जसमा वडा नं. १, २, ३, ४, ५ ,६, ७, ८, ९, १०, १२,, १३, १४, १५ र १९ रहेका छन् । यस क्षेत्रमा कुल मतदाता ७१३४० रहेका छन् । जसमा पुरुषको संख्या ३३९०४ र महिलाको संख्या ३७४३६ रहेको छ ।


मुख्य प्रतिष्पर्धीका रुपमा रहेका एमालेका रमेश बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रा. उद्धव श्रेष्ठ र नेपाली काँग्रेसका उमेश थापाबीचमै प्रतिष्पर्धा हुने मतदाताहरु बताउँछन् । यस भन्दा अगाडिको अर्थात २०७४ सालमा भएको सुनसरी क्षेत्र नं. १ ‘क’ बाट एमालेका प्रदीप भण्डारीले झण्डै ५ हजार मतले नेपाली काँग्रेसका उमेद्वार किशोर राईलाई परािजत गर्नुभएको थियो । उता राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वार प्रा. उद्धव श्रेष्ठ समेत प्रभावशाली व्यक्तित्वका रुपमा देखिनु र दलहरुबाट रुष्ट भएका मतदाताहरुले श्रे्ष्ठलाई नै मतदान गर्ने स्थानीयको अनुमान छ । यसभन्दा अगाडि भएको् स्थानीय निर्वाचनमा प्रदेशसभा ‘क’ तर्फ वडा नं. १ मा नेपाली काँग्रेस, २ मा एमाले, ३ मा नेपाली काँग्रेस, ४ मा एमाले, ५ मा एमाले, ६ मा नेपाली काँग्रेसबाट विद्रोह गर्नुभएका स्वतन्त्र उमेद्वार भुपेन्द्र भट्टराई, वडा नं. ७ मा एमाले, ८ बाट एमाले, ९ बाट नेपाली काँग्रेस, १० बाट एमाले, १२ बाट एमाले, वडा नं. १३ बाट एमाले, वडा नं. बाट राप्रपा, वडा नं १५ बाट एमाले र वडा नं. १९ बाट एमालेले जित हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया