आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा यस पटक मुख्य राजनीतिक दलका आधिकारिक उमेद्वारहरुलाई तीनै दलसँग आवद्ध स्वतन्त्र उमेद्वार बनेकाहरुबाट मुख्य चुनौति देखिएको छ ।
पटक पटक अर्थात २०४८ सालदेखि नै सत्ताको रस्वादन गर्दै आएको नेपाली काँग्रेसबाट मुलुकभरि सबैभन्दा बढी स्वतन्त्र उमेद्वारहरुले उमेद्वारी दिएका छन् । उनीहरुको उमेद्वारी क्षणिक आवेगको उपज हो भने होइन । नेपाली काँग्रेसको मुख्य नेतृत्वले काँग्रेसलाई स्खलित गर्ने अवस्थामा पु¥याएपछि पार्टीको शाख आगामी दिनमा जीवन्त राख्न, आफ्ना श्रद्धेय दिवंगत नेताहरुको आदर्शलाई शताब्दियौसम्म कायम राख्न, पार्टीको मूल्य मान्यताको संरक्षण गर्न नै उनीहरुले स्वतन्त्र उमेद्वारी दर्ता गराएका हुन् ।
सत्ताको उन्मादले नेपाली काँग्रेसको नेतृत्व यतिसम्म दिग्भ्रमणित भएको छ कि उसले सदैव जीवन्त राख्नुपर्ने संगठन तहस नहस गर्न पुगेको छ । संगठन कमजोर भएपछि ऊ अर्को दलको वैसाखीमा हिड्न बाध्य भएको छ । इतिहासमा काँग्रेस वर्तमान अवस्थामा जस्तो कमजोर कहिल्यै भएको थिएन । यसको सम्पूर्ण श्रेय भनौ या दोष नेपाली काँग्रेसको मुख्य नेतृत्वकै हो । अब काँग्रेस कहिल्यै एक्लै चुनाव लड्न सक्ने अवस्थामा रहेन । नेतृत्वले यही बुझेको छ र यथार्थ पनि यही हो । तर काँग्रेस जोगउन पाँच ६ दशकदेखि समर्पित हुँदै आएका पुस्ता र नयाँ पुस्ता अहिले अगाडि सारेका छन् । मुलुकभरि अप्राकृतिक रुपमा गठबन्धनका नाममा अन्य दललाई निर्वाचन क्षेत्र छोड्नु नेतृत्वको घातक निर्णय हो र यसैका विरुद्ध इमान्दार कार्यकर्ताहरुले स्वतन्त्र उमेद्वारी दर्ता गरएको यथार्र्थ हो ।
नेपाली काँग्रेसभित्रको यो रोग थोरै भएपनि एमालेमा पनि देखिएको छ । केपी ओलीले सत्ता छाडेपछि हुर्किएको अप्राकृतिक गठबन्धनको संस्कारले वहुदलीय व्यवस्था दलीय पहिचान, मूल्य, मान्यतालाई अब तिलाञ्जली दिएको छ । पाँच दलीय गठबन्धनले एमालेलाई पनि अन्य दलसँग गठबन्धन गर्न बाटो खुल्ला ग¥यो । जसका कारण आज उसले तोकेको आधिकारिक उमेद्वारका विरुद्धमा सो दलका इमान्दार कार्यकर्ताहरुले स्वतन्त्र उमेद्वारी दर्ता गर्नुपरेको छ । यहाँ सबैभन्दा घिनलाग्दो कुरा त के हो भने संसारका अन्य देशमा हुने गठबन्धन संस्कार भन्दा फरक सँस्कार नेपालमा हुर्कदै गएको छ । गठबन्धन अन्य देशमा पनि हुन्छन् तर निर्वाचन क्षेत्र नै भागबण्डा गरेर गठबन्धन हुँदैन । निर्वाचन पश्चात सरकार गठनका लागि कुनै एक दलको वहुमत नपुगेको अवस्थामा सरकार बनाउन अन्य दलसँग गठबन्धन हुन्छ । आज भारतमा गठबन्धनसँगै निरन्तर परिवारबाट पार्टी कब्जा गर्दा कँग्रेस आई पतनोन्मुख भएको हो । अर्कोतर्फ निर्वाचनमा निर्वाचन क्षेत्र नै भागबण्डा गरेर निर्वाचन लड्दा गठबन्धनका दलका कार्यकर्ताले मतदान किन गर्ने ? मानिस एउटा विचार र आस्थाले कुनै राजनीतिक दलको पछि लागेको हुन्छ नेतृत्वको तलुवा चाटेर कुनै पार्टीमा आवद्ध व्यक्त उक्त दलको इमान्दार कार्यकर्ता हुनै सक्दैन ।
