धरान । वैसाख २९ गते भएको स्थानीय निर्वाचनपश्चात स्वतन्त्र उमेद्वारहरुको उमेद्वारी दिने संख्या बढ्दै जाँदा दलहरुबाट उमेद्वारी दिनेहरुले लोकतन्त्रमा स्वतन्त्र उमेद्वारले दलको तुलनामा काम गर्न नसक्ने बताएका छन् भने स्वतन्त्र उमेद्वार तथा दलबाट असन्तुष्ट भएर बागी दिएका उमेद्वारहरुले लोकतन्त्र आएको यतिका बर्ष वितिसिक्दा पनि दलहरुले केही गर्न नसकेको अब स्वतन्त्र उमेद्वारलाई जिताउनुपर्ने आवश्यकता रहेको बताउदै आएका छन् ।

नेपाली जनताहरुले मुलुकको विकासका लागि विकल्प खोज्दा पनि देश निर्माणका लागि सच्चा उमेद्वार पाउन सकेका छैनन् । दोस्रो स्थानीय तहको निर्वाचनमा पनि सर्वसाधारणले विकल्प खोजेर स्वतन्त्र उमेद्वारलाई जिताएको धेरै उदाहरण छन् । तर स्थानीय निर्वाचनमा मेयरको कार्याकारी अधिकार बढी हुने भए पनि प्रतिनिधिसभा र प्रदेशसभामा कार्यकारी अधिकार स्वतन्त्रमा नहुदा समस्या भएकोले दललाई यसपटक जिताउने एकथरिकोे भनाई छ, भने अर्को थरिका सर्वसाधारणले भने यस पटक स्वतन्त्र उमेद्वारलाई जिताउनुपर्छ भन्ने विचारमा छन् । जेजस्तो विचार अगाडि सारे पनि दलबाट प्रतिनिधित्व गर्नेहरुले स्वतन्त्र उमेद्वारको पहुँच राष्ट्रिय लेवलसँग नहुने भएकोले दलकै प्रतिनिधिलाई जिताउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस प्रदेशसभा ‘क’ बाट उमेद्वारी दिनुभएका उमेश थापाले दलीय व्यवस्थामा दलकै प्रतिनिधि जितेर जाँदा विकास हुने दाबी गर्नुभयो । उनले राजनीतिक नेतृतत्व खराब भए पनि सबै राजनीतिक नेतृत्व खराब नहुने बताउनुभयो तर स्वतन्त्र तथा बागी उमेद्वारहरुको भनाई भने दलका उमेद्वारको भन्दा पृथक छ । उनीहरुले पवित्र गठबन्धनबाट उठेका उमेद्वारले देशले केही लाभ पाउन नसक्ने बताएका छन् । उनीहरुले अपवित्र गठबन्धनबाट बनेका सरकार स्थायी नहुने दाबी गर्दै यसले देशलाई भड्खालोमा हाल्ने, देश अद्योगतितर्फ जाने बाहेक केही नहुने बताएका छन् । नेकपा एमाले र जसपा गठजोड भएर प्रतिनिधिसभा सदस्यका लागि जसपाका नेता अशोक राईलाई उमेद्वारी बनाएपछि नेकपा एमालेबाट साधारण सदस्य नै नरहने गरी राजीनामा दिएर उमेद्वार बन्नु भएका धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोेले अब दलका नेताबाट ठूलो आशा नगर्दा राम्रो हुने तर्क पेश गर्नुभयो । यसपटकको निर्वाचनमा राजनीतिक पार्टी र अपवित्र गठबन्धनबाट नजिताई स्वतन्त्र उमेद्वारलाई जिताउने विश्वास व्यक्त गर्नुभयो सुनसरी क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा दलको भन्दा स्वतन्त्र उमेद्वारको संख्या बढी देखिएको छ । सुनसरी क्षेत्र नं. १ का निर्वाचिन अधिकत कार्यालय रुद्र अधिकारीका अनुसार प्रतिनिधिसभा र प्रदेसभा गरी ४७ जनाको उमेद्वारी परेको छ । त्यसमध्ये स्वतन्त्र २५ जना र पार्टीका तर्फबाट २२ जना उमेद्वारी परेको छ । यसमध्ये सुनसरी क्षेत्र नं. १ क मा पार्टीकातर्फबाट ७ र दलका उमेद्वारबाट ७ गरी १४ जनाको उमेद्वारी परेको छ भने प्रदेश १ ख मा पार्टीका उमेद्वार ६ जना रहेका छन् भने स्वतन्त्र उमेद्वार ७ जना रहेका छन् । यसैगरी प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उमेद्वार ९ जना र स्वतन्त्र उमेद्वार ११ जना रहेका छन् । कतिपय पय उमेद्वारहरु स्वतन्त्र रुपमा देखिए पनि पार्टीले डमी उमेद्वार उठाएको पाइएको छ । पार्टीले निर्वाचन प्रयोजनमा सहयोग पुगोस् भन्ने उद्देश्यले डमी उमेद्वारहरु उठाएको पाइएको छ । सरसरर्ती हेर्दा सुनसरी क्षेत्र नं. १ पार्टीको तुलनामा स्वतन्त्र उमेद्वार बढी रहेका छन् । यसपटक दलहरु पनि गठबन्धन गरेर चुनावमा होमिएका छन् भने स्वतन्त्र उमेद्वार पनि त्यतिकै रहेका छन् । सुनसरी क्षेत्र नं. १ मा मतदातासंख्या १ लाख ३४ हजार ९ सय ७३ मतदाता रहेका छन् । पार्टीका उमेद्वारले बाजी मार्ने हो कि स्वतन्त्र उमेद्वारले बाजी मार्ने भन्ने कुरा भविष्यकै गर्भमा रहेको छ । अहिले नै मुल्याकंन गर्न सकिने अवस्था भने छैन ।
