धरान । केही राजनीतिक दलहरुले अहिलेदेखि नै चुनाव प्रचारप्रसार गर्न थालेको भन्ने सूचनाको आधारमा निर्वाचन आयोगले यस्ता गतिविधि नगर्न राजनीतिक दललाई कार्यालयमै बोलाएर सुझाएको छ ।
शुक्रबार धरान ८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भेला राजनीतिक दल तथा स्वतन्त्र उमेद्वारहरुलाई बोलाएर कार्यालयले चुनाव आगामी कार्तिक १७ गतेबाट मात्र चुनाव प्रचार प्रसार गर्न निर्देशन दिएको हो । आयोगको आचारसंहितामा चुनावको १७ दिनअघिदेखि मात्र चुनावी प्रचारप्रसारको लागि १५ दिनको समय तोकिएको छ । तर, केही उम्मेद्वारहरुले चुनावी घरदैलो कार्यक्रम शुरु गरेको जानकारी आएपछि धरानस्थित सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वार तथा दलको प्रतिनिधिहरुलाई छलफलमा बोलाएर आचारसंहिताबारे जानकारी गराएको छ । शुक्रबार आयोजित उक्त छलफलमा सुनसरी क्षेत्र नं. १ का निर्वाचिन अधिकृत रुद्रप्रसाद अर्यालले प्रचार प्रसार गरेको गुनासो आएपछि दलहरुलाई बोलाएर छलफल गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रो समक्ष उमेद्वारहरुले प्रचार प्रसार गरिरहेका छन् भने गुनासो आयो, अहिले प्रचारप्रसार गर्नु आचारसंहिता विपरीतको काम हो, त्यसैले सबैले यसलाई पूर्ण रुपमा कार्यान्वयन अनुरोध गर्दछु ।’ उहाँले असोज २६ निर्वाचिन दिएपछि प्रचारप्रसारमा निस्केको कुरा बाहिर आएको बताउदै कार्तिक १७ गतेदेखि मात्र प्रचारप्रसार गर्न पाउने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो–‘यस सम्बन्धी सबै उमेद्वारलाई थाहा नहुनसक्छ भन्ने हेतुले जानकारी गराउन पनि दलहरुलाई बोलाएर जानकारी गराएका हौं ।’ उहाँले सोही मितिमा मात्र सभासम्मेलन, घरदैलो, सञ्चारमाध्यममा प्रचारप्रसार गर्न उमेद्वारहरुलाई आग्रह गर्नुभयो ।

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यस्तो भएको पाइएमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी हाल्न उमेद्वाहरुलाई अनुरोध गर्नुभयोे । उहाँले भन्नुभयो–‘निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएमा तपाईहरुले उजुरी हाल्न सक्नुहुन्छ, यो यो विषयमा उजुरी भयो, यसको सत्यतथ्य छानविन गरी कार्वाही अगाडि बढाउन उजुरी हाल्नुस्, छानविन हुन्छ, यदि आचारसंहिताको पुष्टि भएको खण्डमा उमेद्वारी रद्धसम्मको कारबाही हुन सक्छ ।’ छलफलमा रहेका उमेद्वारहरुले भने १५ दिनको अवधिमा प्रचारप्रसार गर्न कम समय भएको भन्दै आचारसंहिता संसोधन गर्न आग्रह गरेका थिए । उनीहरुले मनोनयन दर्ता गर्न २५ जनाभन्दा बढी भेला नहुने भन्ने अचारसंहितामा उल्लेख गरिए पनि ठूलो जमात लिएर आएर मनोनयन दर्ता
गरेको प्रष्ट पार्दै शुरुका दिनमै उमेद्वारहरुले आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन कार्यालयले केही नगरेको भन्दै कार्यालयको काम कारबाहीप्रति उमेद्वारले प्रश्न तेस्र्याएका थिए । उनीहरुले आयोगले आचारसंहिता बनाए पनि कार्यान्वयन पूर्ण रुपमा हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नभएको बताएका थिए ।
