धरान । आगामी मंसिर ४ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभा निर्वाचनका उमेद्वारलाई निर्वाचन अधिकृतको कार्यालय धरानले चुनाव चिन्ह प्रदान गरेको छ ।
निर्वाचन तालिका अनुसार शुक्रबार विहान १० बजेदेखि दिउसो १ बजेसम्म उमेद्वारी फिर्ताको समय राखेको थियो भने ३ बजे अन्तिम नामावली सार्वजनिक गरेको थियो । अन्तिम नामावली सार्वजनिकसँगै उमेद्वारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको प्रदेश नं. १ निर्वाचन अधिकृतको कार्यालय धरानका अधिकृत रुद्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि धरानका पूर्व मेयर मनोजकुमार मेन्याङबोले खरायो, सुकुम्बासी अभियन्ता कुमार कार्कीलाई घण्टाघर प्रदान गरिएको छ । यस्तै हर्क साम्पाङको समर्थनमा प्रतिनिधिसभा सदस्यको उमेद्वार बनेका तर्क मगरले पानीको जार, कृष्णकुमार राईले चापाकल, मातृका प्रसाद भट्टराईले सूर्यमुखी फूल, बासु उपाध्याय पुतली, विजयकुमार राईले छत्र टोपी, सञ्जयकुमार राईले सेल रोटीको चाङ, जीवनकला राई तिलहरी सहितको पोते र केवी लिम्बुले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन् भने दलहरुले भने विगतमा भएको साविककै चुनाव चिन्ह पाएका छन् । यसपटक दलबाट भन्दा पनि स्वतन्त्र उमेद्वार बढी छन् । दलको विकल्पमा आफूहरुले उमेद्वारी दिएको् बताएका छन् । उनीहरुले आफूहरुको विजय सुनिश्चित भएका बताएका छन् । उनीहरुले समय र परिस्थति अनुसार विकास गर्न सहज होस् र मतदातालाई पहिचान गर्न सहयोग पुगोस् भनेर आफूले चाहेको चुनाव चिन्ह रोजेको बताएका छन् । यता प्रदेशसभा १(१) र १ (२) का उमेद्वारहरुलाई समेत चुनावचिन्ह प्रदान गरिएको छ । सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ २७ जनाले उमेद्वारी दिएका छन् ।
