धरान । केही दिन अगाडि सुनसरीबाट काठमाण्डौ पुगेको नेपाली काँगेसका पदीय जिम्मेवारी सम्हालेका युवा नेताहरुले काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा ६ सय मतको हैसियत नभएका गठबन्धनमा रहेका पार्टीलाई २० हजार मत काँग्रेसले खन्याउन सक्दैन, काँग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्दा त्यस्तो कुरा नगर्नु ? नत्र कसरी सत्तामा पुग्ने भनेर जंगिएका थिए ।
हुन त नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निरन्तर सत्ता प्राप्तिको मात्र चरम तृष्णा, सत्ता प्राप्तिका लागि अभिजातीय दलहरुसँगको गठजोड, देशभरिका आफ्नै इमान्दार कार्यकर्ताहरुको मानमर्दन गर्नु स्वभाविक भएको छ । पछिल्लो पटक आफ्ना गुटका भिजिलान्तेहरुलाई मात्र प्रदेशसभा सदस्यतर्फ समानुपातिक उमे्द्वार छनौटले नेपाली काँग्रेस पतनतर्फ उन्मुख भएको स्वयम् काँग्रेसका जिम्मेवार नेताहरुले बताउन थालेका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका सभापतिका प्रत्यासी शेखर कोइराला निकटका नेता तथा कार्यकर्ताहरुलाई आसन्न संघ र प्रदेशसभाको निर्वाचनमा पूरै पाँखा लगाएर आफ्ना निकटका झोले, बैठके, हुक्के, नन्दीभृंगी, अवसर परस्तहरुलाई मात्र सभापति देउवाले प्रदेश १ को समानुपातिक तर्फको उमेद्वार बनाएका छन् । पार्टीलाई तहसनहस गर्ने, विद्रोहको वातावरण बनाउने कारकतत्व नै पछिल्लो पटक देउवा नै देखिएको आम कार्यकर्ताको ठहर छ । प्रदेससभा अन्तर्गत निर्वाचन आयोगमा समानुपातिकतर्फ प्रदेश १ का लागि बुझाइएको बन्दसूचिले पनि यही कुराको प्रमाणित गरेको छ । प्रदेश नं. १ मा कुल ९३ जना सांसदमध्ये ३७ जना समानुपातिक र प्रत्यक्षतर्फ ५६ जना रहने व्यवस्था छ । समानुपातिक तर्फका ३७ जना सबै देउवा निकटका मात्र रहेका छन् ।
प्रदेश नं. १ बाट आदिवासी जनजातिबाट महिलातर्फका ९ जनामा मैया श्रेष्ठ लावती, सीता गुरुङ्ग, शोभा पालुङ्वा, डोल्मा तामाङ्ग, लिलाकुमार
राई, ममता तामाङ्ग, अनु गुरुङ्ग, शिला इजम, कमला राईलाई उमेद्वार बनाइएको छ । यसैगरी खस आर्यतर्फको् पाँच पुरुषमा उद्धव थापा, विदुर बस्नेत, गोपाल थापा, केदार बास्कोटा, जनक थापा रहेका छन् । यस्तै दुई दलित महिलामा पम्फा विक, कृष्णकुमारी विक, दलित दुई पुरुषमा रोहित विश्वकर्मा, गोविन्द दर्नाल, थारु २ महिलामा प्रमिला गच्छदार, सुचि चौधरी, मधेशी दुई महिला र एक पुरुषमा लक्कीदेवी गणेश, ललिता देवी साह, हरि मेहता, एक मुस्लिम महिलामा फरिदा खातुन, आठ जना जनजाति पुरुषमा देवराज लिम्बु, मोहन मानन्धर, टेकबहादुर साँवा, विजय राई, इन्द्र सुब्बा, सञ्जय प्रधान, चन्द्र लिम्बु, प्रेम छिरिङ्ग, चार खस आर्य महिलामा बन्दना भण्डारी, संगम तिम्सिना, कमला प्रधान, रञ्जु उपाध्याय, उमा श्रेष्ठ रहेका छन् ।
