भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको असोज ७ गते शिलान्यास भएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँडले प्रतिष्ठान निर्माणको संयुक्त रुपमा एक विशेष समारोहबीच शिलान्यास गर्नुभएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको यस भन्दा अगाडि सन् २०१४ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला र भारतीय प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको थियो । भारत सरकारको एक हजार करोड अनुदान सहयोगमा निर्माण हुने उक्त प्रतिष्ठान नेपालमा भारत सरकारको सहयोगमा निर्माण हुने अन्य ठूला परियोजना मध्येकै एक हो । यो परियोजना पनि भारत स्वतन्त्र भएको ७५ बर्षको उत्सव मनाउन भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको छ ।

राष्ट्रिय प्रहरी प्रतिष्ठानको कुल क्षेत्रफल ८४ हेक्टर रहेको छ भने क्याम्पस भवन १.१० लाख वर्गमिटरको क्षेत्रफलमा हुने छ । स्थानीय वास्तुकला र आधुनिक प्राविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवनहरु निर्माण हुने भएको भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ दीगो विकास मापदण्ड अनुरुप निर्माण हुने उक्त संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने विश्वास गृहमन्त्री बालकृष्ण खाँडले व्यक्त गर्नुभयो । गृहमन्त्री खाँडले परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । यसैगरी नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुंगाको रुपमा रहेको प्रतिष्ठान परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने प्रष्ट पार्नुभयो ।
