धरान । नेपाल– भारत सचिव
स्तरीय संयुक्त जलस्रोत समितिको नवौ बैठक र स्थायी प्राविधिक समितिको सातौ बैठक विहीबार र शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवम् गंगा संरक्षण विभागका सचिव पञ्कजकुमार र नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव सागर राइको सह अध्यक्षतामा सचिव स्तरीय संयुक्त जलस्रोत समितिको नवौ बैठक सम्पन्न भएको थियो भने गंगाबाढी नियन्त्रण आयोग पटनाका अध्यक्ष एमके श्रीनिवास र नेपालको जलस्रोत मन्त्रालयका सह सचिव शिशिर कोइरालाको सह अध्यक्षतामा संयु्क्त स्थायी प्राविधिक समितिको सातौ बठक सम्पन्न भएको थियो ।

दुवै बैठकमा भारत र नेपालबीच जलस्रोतका क्षेत्रमा भएका सहकार्यबारे वृहत छलफल हुनुका साथै महाकाली सन्धीको कार्यान्वयन, सप्तकोशी परियोजना र बाढी तथा डुबान नियन्त्रणमा भएका सहकार्य सम्बन्धमा विस्तृत छलफल भएको थियो । डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति, कोशी तथा गण्डकी संयुक्त समिति लगायतका द्विपक्षीय समितिले गरेका प्रगतिका सम्बन्धमा पनि बैठकमा गहन छलफल भएको भारतीय राजदुतावास द्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीका अनुसार माथिल्लो तटीय परियोजना, परियोजनाको जलमग्न क्षेत्रका साथै सामाजिक वातावरणीय तथा प्राविधिक पक्षलाई समेत ध्यानमा राखेर सप्तकोशी उच्च बाँध परियोजनालाई थप अध्ययन गरी अगाडि बढाउने छलफलमा सहमति भएको छ । विज्ञहरुको संयुक्त टोलीले बैठक चाँडै गर्नेमा दुवै पक्ष सहमत भएका छन् । विज्ञप्तीमा अगाडि भनिएको छ सन् २०२२ अप्रिलमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी गरिएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त भिजन विज्ञप्तीको स्मरण गर्दै जलस्रोत सम्बन्धी संयुक्त समितिले पञ्चेश्वर वहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन विज्ञ टोलीको समयावधि २०२३ मार्चसम्म थप्नुका साथै विज्ञ टोलीको चौथौ बैठक चाडै गर्ने सहमति समेत भएको छ । यहाँ स्मरणीय कुरा के छ भने नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले आ आफ्ना देशका सम्बन्धित अधिकारीलाई परियोजनाको प्रतिवेदन यथाशक्य चाँडो तयार पार्न निर्देशन दिएका थिए ।
नेपाललाई सिँचाई, बाढी व्यवस्थापन, डुबान नियन्त्रण, नदीको बाँध निर्माण लगायतका क्षेत्रमा सहयोग गरेकोमा नेपाली पक्षले बैठकमा भारतको सह्राना गरेका थिए । भारतीय पक्षले दुई देशबीचको अद्वितीय सम्बन्ध र आपसी हितका लागि जलस्रोतको उचित व्यवस्थापन र उपभोगको महत्वका बारेमा प्रकाश पारेको थियो । वैठक पछि भारतीय जलस्रोत सचिव पञ्कज कुमारले ऊर्जा सिँचाई मन्त्री पम्फा भुषालसँग भेट वार्ता समेत गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री शेरबहादृुर देउवास्ाँग पनि भेटवार्ता गर्नुभएको थियो ।
