दिक्तेल र ओखलढुंगामा पेन्सन शिविर सञ्चालन

धरान । आफ्नो डिष्ट्रिक्ट सोल्जर बोर्ड रहेको खोटाङको दिक्तेल र ओखलढुंगामा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले गत हप्ता पेन्सन शिविर सञ्चालन गरेको थियो ।
खोटाङको दिक्तेल स्थित रहेको डिष्ट्र्रिक्ट सोल्जर बोर्डमा भाद्र २७ गते र ओखलढुंगामा भाद्र २९ गते र ३० गते पेन्सन शिविर सञ्चालन भएको थियो । दुवै स्थानमा सम्पन्न पेन्सन शविरमा त्यस क्षेत्रमा बसोबास गर्ने भारतीय भुतपूर्व सैनिकहरुलाई पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले भारत  सरकारबाट भूपूहरुका लागि उपलब्ध गराइएका दर्जनौ लोककल्याणकारी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । जटिल भन्दा जटिल रोगका विरामीहरुका लागि भ्ऋज्क्, नानीहरुका लागि शैक्षिक खर्च लगायतका सुविधाहरु भारत सरकारले आफ्ना भूपूहरुका लागि उपलब्ध  गराउँदै आएको छ ।


पेन्सन शिविरमा एकत्रित भएका अधिकांश भूपूहरुको पेन्सन पट्टामा देखिएको पारिवारिक त्रुटि समस्याका रुपमा देखिदै आएको छ । पेन्सन पट्टाका त्यस्ता समस्या समाधानका लागि मेजर कनौजियाले खोटाङ दिक्तेलका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई र ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गलाई उहाँहरुकै कार्यकक्षमा भेट गरी सहायोगका निम्ति आग्रह गर्नुभएको थियो ।
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले पेन्सन पट्टामा देखिएका समस्या समधानका लागि आवश्यक सहयोग गर्ने बताउनु भएको थियो । पेन्सन शिविर सञ्चालनका क्रममा मेजर कनौजियाले ओखलढुंगा र खोटाङ्गका भारतीय भूतपूर्व सैनिक संघ, संगठनका पदाधिकारीहरुसँग पनि भेट गरी राय सल्लाह लिनु भएको थियो ।

तपाईको प्रतिक्रिया