घण्टाघरबाट हेर्दा

उल्फाको धन फुपूको सराद्धे
उल्फाको धन फूपूको सराद्धे भन्ने उखानसँग मुसे अरथ मन्तरीको हाउभाउ ठ्याक्कै मिल्या छ । सिसीटिभी फुटेजको तस्विर खाएर सनित्तै बनाउन सक्ने ताकत भएका अरथ मन्तरीले निर्वाचनको मुखमा हदैसम्मको विज्याई गरेछन् । तिन्ले मनलाग्दी ढंगले गरिबले तिरेको ४५ अर्ब कर आफ्ना दलका झोले, गठबन्धनका झोलेहरुलाई लुई लुई बाँडेछन् । झोलेहरु हिजोआज सडकमा उफ्रनुको कारण त माल पाएर पो  रै’छ । कहिले राष्ट्रपति विरुद्ध उफ्रिएका छन्, कहिले प्रधान न्यायाधीशका विरुद्धमा उफ्रिएका छन् । कमाई राम्रो भएसी’ सडकमा उफ्रनु कुन ठूलो कुरा भयो । आखिरी यो सबै मालकै कमाल त हो ।


विनास काले विपरीत बुद्धि
विनासले धेरैपछि मति पनि उल्टो उल्टो हुन्छ माने विपरीत बुद्धि चल्न थाल्छ भन्थे हो कि क्या हो ? अब हेरम राष्ट्रपतिले नागरिकता विद्येयक प्रमाणित नगर्दिएसी नेप्लिज लाँग्रेस चुनाउमा यही मुद्दा बनाएर जाने रे । भीरबाट लड्न लाग्या गोरुलाई रामराम भन्न सकिन्छ दौडिएर गएर काँध हालेर बँचाउन त सकिदैन । कहिले राष्ट्रपतिको विरुद्ध महाअभियोग लगाउने धम्की द्या छ, कहिले रिट बोकेर अदालत गा’छ । श्री ६ सरकारको घमण्ड देखाउने तर जनताका बीचमा लगौटी खुस्किएको पत्तै नपाउने । महाअभियोग लगाउने हैसियत पनि हुनु¥यो नि ? साँसद पद त चिलिम भैसक्यो । अनि कहाँका सासद ल्याएर महाअभियोग लगाउँछन् ? काम चलाउ भएर बस्या छन् बात चाहिँ आकाश पाताल छेड्ने गर्छन् । मंसिर ४ गते पछि नेपाली जनताले यिन्का टुइँके खुस्किने गरी दनक दिएपछि थाहा पाउँछौं । अहिलेलाई बांगो खुट्टी हल्लाउँदै गर ।
दशै खर्च बोकेर आए
गुलाम मानसिकता छउन्ज्याल चतुर खेलाडीहरुले राज गरिरहन्छन् । गुलामहरुलाई यसो चारो छरिदियो मख्ख । अब हेरुम न भोजपुरमा धन्दा फस्टाउन नसकेपछि सुनसरीको क्षेत्र नं. ४ तिर झरेका लाँग्रेसका पर्यटक नेता अस्तिका दिन पोका पत्यौरा बोकेर आएछन् । गुलामहरु अघिपछि गर्दै जदौ जदौ गर्दै एयर पोष्ट सम्मै बाजा गाजा बजाउँदै लिन गा’थे रे । कसैले सँगै बसेर सामाजिक सञ्जालमा फोटो पोष्ट्याएछन् । फोटो पोस्ट्याउनेहरु गति परेछन् । पर्यटक नेता त्यसै आ’का कहाँ हुन् र ? दशै आयो यसो त्यस क्षेत्रका गुलामीहरुलाई चारो छरिदिए मंसिर ४ गते सिंहदरबार छिर्ने बाटो खन्देलान । पर्यटक नेताले दशैका लागि राम्रै जोहो गर्दिएछन् क्यारे । त्यस क्षेत्रका लाँग्रेसीहरु तै चूप मै चूप छन् ।
टिकट किन्नेहरुको हानाथाप
मंसिर ४ गतेको महान चाडका लागि यतिबेला वाल्वाटारमा दोकान खुल्या छ रे । टिकट किन्न धनाढय व्यापारी, भ्रष्ट, माफिया, बलात्कारी, व्यभिचारीहरुको विहानदेखि नै मोलमोलाई शुरु हुन्छ रे । महान चाड मनाउने इच्छा कसको हुँदैन ? तर टिकट किन्ने औकात नभएपछि कतिपय गन्धे मुख लगाएर लुरु लुरु गामघरतिर फर्कन थाल्या छन् । कतिपय फर्किसके अनि कतिपय फर्कने तरखरमा छन् रे । टिकट बेच्ने मुखिनीले थोरैमा २४ लाख र बढीमा दुई डोको मूल्य निर्धारण ग¥या छिन् रे । लत्तरोले यस्ता महँगो टिकट खरिद गर्न सक्ने कुरै भएन । खरिद गर्ने त उस्तैले हो । जेहोस् मंसिर ४ लाई लक्षित गरेर खोलिएको टिकट काउन्टर भीडभाडका साथ चलिरा’छ । चल्नै प¥यो । चलाउनैलाई खोल्या त हो नि ।
मुखियाका झोलेको गर्जन
भगवानको लिला पनि अरम्पार छ । काँग्रेसको संगठनमा फिटिक्क सिन्को नभाचेका, न कुनै लगानी भएका धरानका एकजना विकलाई भगवानले जहिल्यै छप्पर फाँडेर दिन्छन् । तर आजीवन लगानी गर्ने , पटक पटक जेलतिर कोचिएका, लाठी मुंग्री खाएकाहरुको चाहिँ भगवानले गाँड फोरेरै लिएका छन् । भगवानले छप्पड फोडेर दिएका ती व्यक्तिले अस्तिका दिन भन्या राष्ट्रपतिबाट सविधानमाथि गम्भीर षड्यन्त्र भयो । सांसदको घोर अपमान भयो भनेर वाल्वाटारे मुखिया मुखिनीलाई रिझाउन अस्तिका दिन फलाक्दै थिए । हैन हौ यहाँका सासदको मानै के छ र अपमान हुने ? सासद बन्न जनताको मन जित्नुपर्छ । उनहिरुका सुखदुुःखका साथी बन्नुपर्छ । चाकडीमा सांसद पड्काएको छ अनि मान खोज्ने ?
विभुषणको अपमान भयो रे
नेपालीहरु एक अर्काको खिसीटिउरी गर्न कम्ता खप्पिस छैनन् । अब हेरम न अस्तिका दिन राष्ट्रपतिले आफ्नै निवासमा हजार पन्द्र सय जनालाई गतिला गतिला विभुषण दिइन् । विभुषण पाउने गद्गद भए नपाउनेहरुले आगो । बलात्कारी, ज्यानमारा, भ्रष्टहरुले विभुषण पाए भनेर कम्ता गनगन ग¥या हैन । जुन कुरामा मान्छे दक्ष हुन्छ त्यसलाई हेरेर विभुषण दिने त हो । कोही ज्यान मारेर जेल सजाय काटेर आ’थिए, कसैले बलत्कारको मुद्दाबाट ख्याती कमाउनेलाई त छोड्नै भएन । अर्काथरि प्रचण्डाउकी श्रीमतिलाई चाहिँ किन दिएको भन्दै थिए । ए मुरख हो, प्रचण्डाउले त्यत्रो विध्वंस १० बर्षसम्म मच्चाउँदा विचरीले इमान्दारिीपूर्वक साथ दिएकी थिइन । कमसेकम यस्ता कुराको ख्याल गर्नुपर्दैन ?
अन्तेमा
आफै सिद्धिएकालाई कसैले सिद्याउदै पर्दैन । अस्तिका दिन पञ्चधातु सम्मीश्रणका शक्तिशाली पात्र प्रचण्डाउ भन्दै थिए । एकथरि मान्छे प्रचण्ड सिद्धियोस् भनेर धूप हालेर बस्या छन् । विचरालाई कस्ले सुनाइदिएछ एकथरिमात्र त्यसरी बस्या छन् भनेर । राज्येकोषबाट जन्ताको सुरक्षाका लागि तलब भत्ता खाएका सुरुक्षाकर्मीको सुरक्षा घेराभित्र बस्ने तिन्लाई के थाहा सबै थरिका मानिस प्रचण्डाउ सिद्धिनुपर्छ भनेर धुप राँको बालेर बस्या छन् । मंसिर ४ गते राँको बोकेर दौडिदा कति थरिका रै’छन् भन्ने थाहा हुन्छ । कि कसो हौ ?

तपाईको प्रतिक्रिया