धरान । नेपालको सुदुरपश्चिमको दार्चुला जिल्लामा भारत सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा महाकाली नदीमा पहिलो दुवै देश जोड्ने मोटरेबल पुल निर्माण हुने भएको छ ।
भारतीय राजदूतावास काठमाण्डौद्वारा सोमबार जारी गरिएको विज्ञप्तीका अनुसार नेपालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बढुले नेपाल तर्फ र उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भारततर्फ एकसाथ पुलको शिलान्यास गर्नुभएको थियो । मन्त्री बढुसँगै भारतीय राजदूतावासका डिसिएम प्रशान्त श्रीवास्तव शिलान्यासमा सहभागि हुनुभएको थियो ।

दुतावासद्वारा जारी विज्ञप्तीका अनुसार डबल लेनको उक्त पुल आगामी एक बर्षभित्रमा सम्पन्न गरिने भएको छ । भारतीय रुपैया ३३ करोड ९८ लाख ४० हजारको लागतमा सम्पन्न हुने उक्त पुल १ सय १० मिटर लम्बाइको रहेको छ । सो अवसरमा बोल्दै मन्त्री बढुले भारतीय सहयोगमा बन्ने पुलले अब दार्चुला जिल्ला व्यापारको दृष्टिले अन्तर्राष्ट्रिय हब बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो सुदुर पश्चिम पहाडी जिल्लाहरु दार्चुला, बझाङ, बैतडीलाई पुलले जोड्ने काम गर्नेछ । उहाँको कथत थियो चीनसम्मको व्यापारलाई पुलले सहज बनाउने छ । दार्चुलाबाट चीनको व्यापारिक नाका पुग्न १३४ किमी रहेको छ भने कञ्चनपुरको ब्रम्हदेवमण्डी २२१ किमी रहेको छ । शिलान्यास गरिएको पुल निर्माणको ठेक्का भारतको उत्तराखण्ड लोक निर्माण विभागको समन्वयमा चण्डीगढको पिएण्डआर इन्फ्राप्रोजेक्टले पाएको छ । भाद्र पहिलो हप्तामा नै निर्माणको ठेक्का सम्झौता भइसकेको थियो ।
