धरान । प्रदेश नं. १ को पूर्वोत्तर जिल्ला पाँचथरसँग भारतको सिक्किम राज्यसँग सीमा जोडिएको चिवा भन्ज्याङसम्मको बाँकी ५१ किमी सडक आगामी आषाढ मसान्त भित्रमा कालोपत्रे हुने भएको छ ।
पाँचथरको चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्गको उद्गम स्थल हो । चिवाभन्ज्याङबाट गणेशचौक सम्मको ६० किमी सडकमध्ये हाल थर्पु दोरिम्बासम्मको ९ किमी सडक कालोपत्रे भइसकेको छ ।
नेपालको सुदुर पश्चिमको वैतडी झुलालघाट जोड्ने यो सडकको कुल लम्बाई १८७९ किमी रहेको छ । मध्यपहाडी लोकमार्गको पाँचथर फिदिम सडक आयोजनाका इन्जिनियर हिमाल काÏलेले दिनुभएको जानकारी अनुसार गणेशचौक चिवा भन्ज्याङ सडक खण्डमा खण्डुवा खोला बाहेक अन्य १० वटा खोलामा पुलहरु निर्माण भइसकेका छन् । निर्माण सम्पन्न भइसकेको पुलहरुमा ओसाम खोलाको १० मिटर लामो, सुख्खा खोलाको १५ मिटर लामो, मेवा खोलाको २५ मिटर लामो, नुवा खोलाको २५ मिटर लामो, फलाम खोलाको २५ मिटर लामो, ओयाम अखोलाको २० मिटर लामो, मुसेपा खोलाको २५ मिटर लामो, सिवा खोलाको २४ मिटर लामो, छाङ्गखोला १ को १५ मिटर लामो र छाङ्गखोला २ को २० मिटर लामो पुल निर्माण भइसकेको छ । हाल खण्डुवा खोलाको २० मिटर लामो पुल विरुवा गल्वा जेभि काठमाण्डौले निर्माण गरिरहेको छ । खण्डुवा खोला पुलको कुल लागत ४२९१८९६७ं५४ (लागत अनुमान) गरिए पनि ३९२०१५२८.३४ मा ठेक्का लागेको र सोको काम ७० प्रतिशत पूरा भएको इन्जिनियर काफ्लेले बताउनुभयो ।

चिवा भन्ज्याङ्ग थर्पु दोरम्बा खण्डको सडक निर्माणको ठेक्का सम्झौता २०७४ जेष्ठ ३१ मा भएको थियो । शुरुको म्याद २०७५ असोज ३१ रहे पनि ठेकेदारको लापर्बाहीले सडकको कामले गति लिन सकेन । आयोजनाले पुन ः सडक निर्माणको म्याद आगामी २०८० आषाढ २८ गतेसम्म थप गरेको छ । यो सडक निर्माण तीन प्याकेजमा काम भइरहेको छ । चिवा भन्ज्याङ्गदेखि गोशचौकसम्म रोशन शिवशक्ति जेभी र सन्तोषी शिवशक्ति जेभीले ठेक्का पाएका छन् । यस सडकको लागत अनुमान ८१९१८५६२४.४ रहे पनि ५३१७९५४५५.९७ रुपैयामा सम्झौता भएको थियो । उक्त सडक निर्माणको सम्झौता २०७७ माघ १९ मा भएको थियो भने २०७९ माघ १८ मा पूरा गर्नुपर्ने थियो । अनुमानित लागत भन्दा ३५.०७ प्रतिशत कम लागतमा निर्माण शुरु भएको उक्त सडक हालसम्म १० प्रतिशत मात्र कामका प्रगति भएको छ । यसैगरी दोस्रो खण्ड अन्तर्गत सन्तोषी शिवशक्ति जेभीले २०७७ माघ १९ गते ठेक्का सम्झौता गरेको थियो । उसले २०७९ माघ १८ गते लागत अनुमान ७४८३३२८०८.९ भन्दा ३७.९१ प्रतिशत कम रेटमा ४६४६०७०७७.९३ मा ठेक्का सम्झौता गरेको थियो । हालसम्म उसले ३ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । यसैगरी तेस्रो खण्डको कामको सम्झौता पनि रोशन शिवशक्ति जेभीले नै गर्दै आएको छ । आयोजनाले २०७७ माघ १९ गते ठेक्का सम्झौता गरेर २०७९ माघ १८ गते पूरा गर्नै सम्झौता गरेको थियो । तेस्रो खण्डको काम अनुमानित लागत ७३५६००७०.८ रहेपनि ३५.७० प्रतिशत कम अर्थात ४७३७१९७८.३७ मा ठेकेदार कम्पनीले सकारेको थियो । हालसम्म उसले शर्त बमोजिम निर्माण गर्नुपनै कामको १० प्रतिशतमात्र पूरा गरेको छ ।
पाँथर च्याङ्गथापुका शरण लिम्बु भन्नुहुन्छ सडक निर्माणमा ठेकेदारको व्यापक लापार्बाही देखिएको छ । च्याङ्गथापुबाट चिवाभन्ज्याङको दूरी ४० किमी मात्र रहेको छ । लिम्बु भन्नुहुन्छ तोकिएको समयमा सडक निर्माण सम्पन्न हुनेमा विश्वासै छैन । मन लाग्दा यसो सडक खोस्रेजस्तो गर्छन् नत्र हप्तौ हराउँछन् । सम्बन्धित निकायले ठेकेदारको कामको अनुगमन गरेर कडाई गर्नुपर्छ उहाँले भन्नुभयो ।
