धरान । बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति नेपालका राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट शोक सन्देश व्यक्त भएको छ । राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवका संवाद सचिव डा.
फणिराज पाठकद्वारा भाद्र २४ गते जारी शोक सन्देशमा भनिएको छ, संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितियाको निधनको खबरले हामीलाई दुःख लागेको छ । स्वर्गीय महारानी राजगद्धीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ । साथै नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ ।

शोक सन्देशमा भनिएको छ, नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दी भन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दैै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेटवार्तालाई गहनतम् प्राथमिकता दिएका छौं । उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायत सरकार एवम् बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
