इटहरी । सुनसरीका विभिन्न स्थानमा विगत केही समय यता विभिन्न राजनैतिक पार्टीसँग आवद्ध रहेको, पदीय जिम्मेवारी भँजाउदै होटल तथा रेष्टुराँमा गएर मनलाग्दी धोक्ने अनि पैसा नतिर्नेलाई व्यवसायीहरुले पाता कस्न थालेका छन् । इटहरीमा हालै न्यौपाने खाजा घरमा टन्न मासु र वियर खाएपछि हाल सत्तासीन गठबन्धनमा रहेको कुनै दलको नाम लिएर उल्टै धम्क्याएर दादागिरी देखाउँदै पैसा नतिरी हिड्न खोज्ने एक जनालाई होटल सञ्चालकले अँठ्याएर खाँवामा बाँधेर पाता कसेका छन् ।

नेता र राजनैतिक दलको आडमा उल्टै होटल सञ्चालकलाई धम्क्याउने, अपशब्द प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । धरानमा समेत सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनताका धरान १३ स्थित एक होटलमा पार्टीको नाममा वियर, सेकुवा र अन्य परिकार खाएर महिनौ पैसा नतिरेपछि होटल सञ्चालक रत्न रिमालले सामाजिक सञ्जालमै त्यस व्यक्तिको उछितो काढेका थिए । पेशाले होटल व्यवसायी भए पनि नेपाली काँग्रेसका क्रियाशिल सदस्य रिमालले त्यस्ता व्यक्तिको सामाजिक सञ्जालमा उछितो काढेपछि रक्सी सेकुवा खाएर पैसा नतिर्नेहरुका बारेमा निक्कै खुल्दुली मच्चिएको थियो ।
