धरान । भारत र चीन जोड्ने सबैभन्दा कम दूरीको तमोर करिडोरको लावरबाटे ओलाङचुङगोला टिप्तला भन्ज्याङ पहिलो सेक्टर अन्तर्गत गणेशचौक सम्म नौ वटा पुल निर्माणको प्रक्रिया शुरु भएको छ ।
पुल आयोजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरान सुनसरीले पुल निर्माणको प्रक्रिया शुरु भएको जनाएको छ । पुल आयोजना पूर्वी क्षेत्र सेक्टर न. १ का आयोजना प्रमुख इन्जिनियर नितिश झाका अनुसार निर्माणधीन सबै पुल ठेक्का प्रक्रियामा गइसकेको र कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेको बताउनु भएको छ ।

धनकुटाको लावारबोटेबाट पाँचथरको सुभाङ्ग खोलासम्मको दूरी ९५ किमी रहेको छ । यो सडक खण्डको ग्राभेल स्तर सिद्धिएको र कालोपत्रेका लागि ठेक्का प्रक्रियामा रहेको सडक आयोजनाका प्रमुख कुवेर नेपालीले बताउनुभयो । पुल निर्माण भएपछि यातायात सहज हुने नेपालीको कथन छ । यद्यपि हाल सवारी साधनहरु उक्त सडक भएर चल्ने गरे तापनि भारी बर्षाका समयमा कतिपय स्थानमा घण्टौ पर्खेर बस्नुपर्ने बाध्यता छ नेपालीले भन्नुभयो । पुल निर्माण भएपछि धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङका बासिन्दा छोटो दूरीको तमोर करिडोर सडक प्रयोग गरेर धरान विराटनगर पुग्न सक्छन् ।
पुल आयोजना पूर्वी क्षेत्र सेक्टर नं. १ आयोजना प्रमुख नितिश झाले दिनुभएको जानकारी अनुसार पाँचथरको गणेशचौक छरुवा खोलाको पुल १७ करोड २३ लाख ७९ हजार ५४० रुपैयामा लुम्बिनी रौता खिम्ति जेभीले काम अगाडि बढाएको छ । यसैगरी रघुवा खोला, कम्भुवा खोला, भगुवा खोलाको पुल कुमार श्रेष्ठ स्वामीनारायण आर्शिवाद जेभीले २२ करोड ५२ लाख ७५ हजार ७८० मा, हेवा खोला, लोरिया खोला, लखुवा खोला, नव खोलाको पुल शर्मा सगुन जेभीले ३७ करोड २१ लाख ५३ हजार ५४० मा र तक्चनघाट धनकुटाको तमोर नदीको पुल २९ करोड ८७ लाख २४ हजार ३ सयमा कुमार श्रेष्ठ स्वामिनारायण आर्शिवाद जेभीले निर्माण गर्नेछन् । आयोजना प्रमुख झाले भन्नुभयो, हेवा खोलाको पुल ५० मिटर लामो र ७.५ मिटिर चौडाइ रहने छ ।
लोरिपा खो्लाको पुल २० मिटर लामो, लखुवा खोलाको पुल १५० मिटर लामो र नव खोलाको पुल समेत १५० मिटर लामो बन्ने छन् । यी सबै खोला पाँथरको गणेशचौक सेक्टरमा रहन्छन् । यसैगरी धनकुटाको लोकेशनमा रघुवा खोलामाथि तामोर करिडोरकै सबैभन्दा लामो पुल बन्ने छ । जुन पुलको लम्बाई १७० मिटर रहेको छ । यसैगरी कम्भुवा खोलामा ४० मिटर र भगुवा खोलामा २० मिटरको पुल बन्ने छ । सडक आयोजनाका प्रमुख कुवेर नेपाली भन्नुहुन्छ तमोर करिडोर सडक सुभाङ्ग खोलाबाट तामोर नदीको किनारै किनार जाने भएपनि सुभाङ्ग खोलाबाट गणेश चौक १९ किमी सडक जोड्दा मध्य पहाडी लोकमार्गलाई पनि छुने भएकोले उक्त सडक समेत निर्माण गरिएको हो । पाँथरको गणेशचौकमा मध्यपहाडी लोकमार्गले छुने भएकोले उक्त सडक समेत निर्माण गरिएको हो ।
पाँचथरको गणेशचौकमा मध्य पहाडी लोकमार्गले छुन्छ । जहाँबाट ६० किमीको दूरीमा भारतको उत्तरपूर्वी राज्य सिक्किमसँग जोडएको चिवा भन्ज्याङ्ग छ । चिवाभन्ज्याङ्ग गणेशचौक ६० किमी सडकमध्ये ९ किमी सडक कालोपत्रे भइसकेको र अन्यको ट्रयाक खोल्ने काम मात्र भएको छ । मध्यपहाडी लोकमार्ग पाँचथरका आयोजना प्रमुख दानबहादुर शाक्य भन्नुहुन्छ गणेशचौकबाट चिवाभन्ज्याङ्गसम्मको सडकमा जुन रुपले काम हुनुपर्ने थियो त्यो हुन नसक्दा ९ किमी भन्दा बढी सडक कालोपत्रे हुन सकेको छैन ।
