सेनाध्यक्ष पाण्डे पाँच दिने नेपाल भ्रमणमा

राजधानी । भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँचदिने भ्रमणका क्रममा आइतबार काठमाण्डौ आउनु भएको छ । सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले अपरान्ह त्रिभुवन विमान स्थलमा स्वागत गर्नुभएको थियो । भ्रमण दलमा सेनाध्यक्ष पाण्डेकी धर्मपत्नी अर्चना पाण्डेसहित पाँच सदस्यी रहेका छन् ।


प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा आउनु भएका PVSM, AVSM, VSM, ADC बाट सम्मानित भारतीय सेनाध्यक्ष पाण्डेले आइतबारै सैनिक मञ्च टु्ँडिखेलमा रहेको बीर सैन्य स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसपछि उहाँलाई नेपाली सेनाको मुख्यालयमा गार्ड अफ अनर दिइएको थियो । सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता भएको थियो । उक्त अवसरमा  भारतीय सेनाध्यक्ष रनरल पाण्डेले भारत सरकारका तर्फबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने हेतुले २२ करोड रुपैया बराबराको १० वटा माइन प्रोटे्क्टिक भेइकल, चार वटा घोडा, मेडिकल उपकरण, मेन्टिनेन्स स्पेयर्स नेपाली सेनालाई प्रदान गर्नुभएको थियो ।
सोमबार अपरान्ह सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्नुभएको थियो । नेपाल र भारत बीचमा सन् १९५० देखि नै एक अर्का देशका सेना प्रमुखलाई मानार्थ  महारथीको दज्र्यानी प्रदान गर्ने  परम्परा रहँदै आएको छ । मंगलबार जनरल पाण्डे सगरमाथा आधार शिविरको भ्रमणमा जानु भएको थियो । सोही दिन उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो भने साँझ पत्नीसहित आराध्यदेव पशुपतिनाथको दर्शन गर्नुभएको थियो । भ्रमणकै क्रममा बुधबार जनरल पाण्डेले मौसम अनुकल भएमा मुक्तिनाथ दर्शन गर्नुहुने भएको छ भने पोखरास्थित नेपाली सेनाको मध्य कमाण्डको भ्रमण समेत गर्नुहुने भएको छ । विहीबार जनरल पाण्डे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया